महोत्तरीमा चार जनाले उम्मेदवारी फिर्ता लिएपछि १३९ उम्मेदवार कायम
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी जिल्लामा १३९ उम्मेदवार कायम भएका छन् । गत मङ्गलबार मनोनयनपत्र दर्ता गरेका १४३ जनामध्ये शुक्रबार चार जनाले उम्मेदवारी फिर्ता लिएपछि १३९ उम्मेदवार कायम भएका हुन् ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरका अनुसार यहाँ चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ बाट दुई, क्षेत्र नं ३ र ४ बाट एक-एक गरी चार जनाले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो । उम्मेदवारी फिर्ता लिने चारै जना स्वतन्त्र उमेद्वार हुनुहुन्छ ।
जिल्लामा क्षेत्र नं १ मा पाँच महिलासहित २५, क्षेत्र नं २ मा पाँच महिलासहित ३७, क्षेत्र नं ३ मा दुई महिलासहित ४१ र क्षेत्र नं ४ मा सात महिलासहित ३६ जनाको उमेद्वारी रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारको अन्तिम टुङ्गोे भएसँगै आज सबैलाई निर्वाचन चिह्न प्रदान गरी अन्तिम सूची प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।
अन्तिम नामावली प्रकाशन भएअनुसार अब ८३ जना स्वतन्त्र र ५६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार मैदानमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । दलका लागि निर्वाचन चिह्न पहिलेदेखि तय रहे पनि स्वतन्त्र उम्मेदवारले भने आज निर्वाचन चिह्न पाएका हुन् । निर्वाचन चिह्न प्राप्त गरेपछि अब उम्मेदवारले विधिवत चुनाव प्रचार सुरु गरेका छन् ।





प्रतिक्रिया राख्नुहोस्