राजनीति

भोजपुरका ३३ मतदानस्थल अति संवेदनशील

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा ३३ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।

निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले ८७ वटा मतदानस्थलहरूमध्ये ३३ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो । जिल्ला सुरक्षा समितिले अवस्था हेरेर मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । २० वटा संवेदनशील र ३४ मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको छ ।

विगतमा भएका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र दलको प्रभावलगायत विषयलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान कार्यक्रमलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले र चार वटै सुरक्षा निकायले सुरक्षा योजना बनाएर काम गरिरहेको छ । निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र जनशक्ति परिचालनका लागि सुरक्षा समितिले मतदानस्थलको निरीक्षण समेत गरेको छ ।

भोजपुरमा आसन्न निर्वाचनमा भाग लिन १२ दलका १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भोजपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शेरधन राई, नेपाली कांग्रेसका बालकृष्ण थापा, नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङ राई, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझा, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, नेकपा (माओवादी)का देवानराज राई, जनता समाजवादी पार्टीका गोपालकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक नेपाल, राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राई, नेपाल मजदुर किसान पार्टीका राजाराम बासी, मङ्गोल नेशनल अर्गनाइजेसनका चन्द्रप्रसाद राई र आमजनता पार्टीका तर्फबाट युवराज थापा चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको भोजपुरमा ८७ मतदानस्थल र अस्थायीसहित १६१ वटा मतदान केन्द्र निर्धारण भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा आगामी निर्वाचनका लागि एक लाख २५ हजार ६६६ जना मतदाता कायम भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.