विश्व समाचार

बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी

बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ । आइतबार सार्वजनिक तथ्याङ्कअनुसार बेलायतमा कोरोना भाइरसका कारण ज्यान जाने नागरिकको संख्या ९७ हजार ९३९ पुगेको बताइएको हो ।

बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले आइतबार सो तथ्याङ्क सार्वजनिक गरेको समाचारमा जनाइएको छ । उक्त विभागका अनुुसार पछिल्लो जानकारीमा बेलायतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्यामा भने अघिका केही दिनहरुका तुलनामा केही कमी आएको बताइएको छ ।

तीन दिनमात्र अघि बेलायतमा एकै दिन कोरोनाका कारण कम्तीमा पनि १ हजार ८०० जनाको ज्यान गएको बताइएको थियो ।

तर त्यसपछिका दिनमा घट्दै गएको यो मृत्युको संख्या अघिल्ला दिनहरुको तुलनामा निकै नै कमी आएको हो । बेलायतमा आइतबार थप ६१० जना कोरोना सङ्क्रमितको मृत्यु भएको सो विभागले जानकारी दिएको छ ।अघिल्लो दिनमात्र यहाँ ९ सयभन्दा बढीको ज्यान गएको थियो । तर यहाँका विभिन्न अस्पतालमा सङ्क्रमितको संख्या भने पहिलेका हप्ताको तुलनामा पछिल्ला हप्ताहरुमा निकै बढेको बताइएको छ ।

यसका साथै सो विभागले आइतबार दिएको जानकारीमा बेलायतमा कोरोना संक्रमितहरुको संख्यामा पनि केही दिनयता कमी आएको जनाएको छ ।आइतबार सम्ममा त्यसको २४ घन्टा अघिको तुलनामा यहाँका ३० हजार ४ जना नयां सङक्रमित थपिएका छन् । यो सँगै बेलायतमा संक्रमित संख्या संख्या ३६ लाख ४७ हजार ४६३ पुगेको छ ।

यहाँका अस्पतालहरुमा हाल झन्डै ३८ हजारको संख्यामा कोरोना संक्रमितको उपचार भइरहेको पनि यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले जानकारी दिनुभएको छ ।स्वास्थ्यमन्त्री म्याटले बताएअनुसार हाल यहाँका अस्पतालहरुमा भर्ना हुनेको संख्या महामारीयताकै सबैभन्दा बढी रहेको छ ।

यहाँ पहिलाको पहिलो वेभको तुलनामा दोब्बरभन्दा पनि बढी कोरोना सङ्क्रमित अस्पताल भर्ना भएका छन् । साथै कोरोना सङ्क्रमणका कारण भेन्टिलेटर बेडमा रहेका बिरामीको संख्या पनि चार हजार नाघेको छ ।उता बेलायतमा खोप दिने क्रम पनि शुरु भएको छ । हालसम्म बेलायतमा ६० लाखभन्दा बढी नागरिकले खोप लगाइसकेका बताइएको छ ।यसरी एकातर्फ यहाँ खोप दिने क्रम जारी नै छ भने अर्कातर्फ बेलायतबाट निस्किएको नयाँ प्रजातिाको भाइरसको सङ्क्रमण पनि दिन प्रतिदिन बढ्दो मात्रामा रहेको पाइएको छ ।

महामारीको बावजुद विद्यालय खोल्न प्रधानमन्त्रीलाई दबाब

बेलायत सरकारले पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि सोमबार बढ्दो दबाबको सामना गर्नु परेको छ । सांसदहरूले विद्यालहरू महिनौंसम्म बन्द रहनसक्ने रिपोर्टबारे बहस चलाएपछि सरकारलाई विद्यालय खोल्नका लागि दबाब परेको हो ।

प्रधानमन्त्री बोरिस जोनसनको सत्तारूढ कन्जर्भेटिब्स पार्टीका एक दर्जन सांसदहरूले महामारीका कारण ‘बिर्सिएका पीडित’ का रूपमा विद्यार्थीहरू पर्ने खतरा देखिएको भन्दै विद्यालयहरूलाई शीघ्र पूर्ण रूपमा खोल्नका लागि माग गरेका छन् ।

समूहमा पूर्व मन्त्री एस्टर म्याकवे र कन्जर्भेटिभ सांसदहरूको प्रभावशाली समितिका प्रमुख ग्राहम ब्रैडीले यस मुद्दामा अभिभावकको दबाब समूह अभियानको समर्थन गर्नुभएको छ ।

“हामीले आफ्ना बच्चाहरूको निरन्तर कक्षा सञ्चालनमा जोड दिन जरुरी छ,” बेलायतको संसदको शैक्षिक निगरानी समितिका अध्यक्ष तथा सांसद रोब हाफनले ट्वीट्रमार्फत सम्प्रेषण गरेको सन्देशमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारी संयन्त्रले हाम्रा विद्यालयहरू खोल्ने दिशामा निर्देशित हुनुपर्दछ अन्यथा हामीहरू शैक्षिक गरिबी र मानसिक स्वास्थ्यको महामारीको सामना गर्नुपर्नेछ ।”

यद्यपि हाफनको सोमबारको यो अडानले संसदमा यथोचित ध्यानाकर्षण गर्न नसकेको देखिएको छ । बेलायती संसद ‘हाउस अफ कमन्स’का सभामुख लिन्जी होयलले यसलाई विषयान्तर गर्दै संसदीय छलफललाई अघि बढाउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.