राजनीति

“१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले पूर्वनेकपा एमालेलाई १५ वर्ष नेतृत्व गरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डको मामूली कार्यकर्ताको सङ्ज्ञा दिएर नजिस्काउन चेतावनी दिनुभएको छ ।

मंगलबार नेकपा पाँचथर जिल्ला कमिटीले फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा नेपालले सो चेतावनी दिनुभएको हो । त्यस क्रममा अध्यक्ष नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिकताको प्रश्न टुङ्गिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन आयोगले ४११ केन्द्रीय सदस्यलाई मान्यता दिएपछि त्यसको बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ ।” चार सय ४१ को केन्द्रीय कमिटी र ४५ का स्थायी समिति आधिकारिक भएको र त्यसमा आफूहरुसँग बहुमत रहेको नेता नेपालको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री नेपालले संविधानको कुनै धारामा नटेकी प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय भएको जिकिर गर्दै यसबाट उक्त निर्णय अवैधानिक भएको र राजपत्रमा विधि सम्मतरुपमा प्रकाशन नभएको आरोप लगाउनुभयो । सबैको असन्तुष्टि भएपछि प्रधानमन्त्रीलाई त्यसको कारण खोज्न सुझाव दिनुभयो ।

प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता र सहकार्य जारी हुन सक्ने बताउँदै नेता नेपालले आफू कुनै पदको लोभ नगर्ने र समस्या नबन्ने बताउनुभयो । कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री ओलीका कारण देशको अग्रगमन र समृद्धिमा बाधा परेको आरोप लगाउनुभयो । पूर्वमन्त्री शर्माले विगतदेखि नै एमाले र माओवादीबीच भएका सहमति र सहकार्यका आधारमा पार्टी एकता भएको बताउँदै नयाँ ढङ्गले पार्टी सङ्गठन निर्माण गरिने जानकारी दिनुभयो ।

त्यसै गरी मंगलबार नै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री नेपालले निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको बताउनुभयो ।

आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेको जनाउँदै उहाँ अध्यक्ष नरहेको नेपालले जिकिर गर्नुभयो । जबज भनेको पार्टीको लोकतान्त्रीकरण, सामाजिक न्याय र प्रशासनको लोकतान्त्रिक भएको तर ओलीसँग त्यो सिद्धान्त नभएको नेपालले आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.