राजनीति

राष्ट्रियसभा निर्वाचन : कर्णाली र सुदूरपश्चिममा सत्ता गठबन्धन दल विजयी

समाचार अनुसार कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलको उम्मेदवारमा महिला क्लस्टरमा नेपाली कांग्रेसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी हुनुभएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन अधिकारी चालिसेका अनुसार विजयी उम्मेदवारमा महिला क्लस्टरतर्फ नेपाली कांग्रेसका गुरुङले दुई हजार ९७०, अपाङ्गता÷अल्पसङ्ख्यक क्लस्टरतर्फ माओवादी केन्द्रका विष्टले तीन हजार छ र खसआर्य क्लस्टरतर्फ एकीकृत समाजवादीका बोहराले तीन हजार छ मतभार प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रतिपक्षी दल नेकपा (एमाले)बाट महिला क्लस्टरतर्फ गङ्गा महत (जुम्ला)ले एक हजार ४१६, खसआर्य क्लस्टरतर्फ चूडामणि शर्मा (सुर्खेत)ले एक हजार ४१६ र अपाङ्गता÷अल्पसङ्ख्यक क्लस्टरतर्फ पदम माझी (दैलेख)ले एक हजार ३९८ मतभार प्राप्त गर्नुभएको उहाँले बताउनुभयो ।

“राष्ट्रियसभा सदस्यको आजको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कर्णाली प्रदेशसभा सदस्य सोशिला शाहीले भने मतदान गर्नुभएन”, प्रदेश निर्वाचन अधिकारी चालिसेले भन्नुभयो, “तिलागुफा नगरपालिका कालीकोटका उपप्रमुख भने करिब दुई वर्षदेखि नेपालबाहिर हुनुहुन्छ । त्यसैले कूल मतसङ्ख्या १९१ मध्ये १८९ खसेको थियो ।” उहाँका अनुसार स्थानीयतर्फ महिला क्लस्टरमा दुई वटा र अपाङ्गतातर्फ एक मत बदर भएको छ ।

यस गरी सुदूरपश्चिम प्रदेशबाट गठबन्धन दलका साझा उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्यतर्फ नेकपा (एकीकृत समाजवादी)का मदनकुमारी शाह (गरिमा), दलिततर्फ नेकपा (माओवादी केन्द्र)का जगत पार्की र अन्य समूहतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी हुनुभएको छ ।

महिलातर्फ विजयी शाहले तीन हजार ८३४ मत पाउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की सन्तोषी शर्मा थापाले एक हजार ७२८ मत पाउनुभयो । यस्तै दलिततर्फको राष्ट्रियसभा सदस्य पदमा विजयी पार्कीले तीन हजार ७६२ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेश विकले एक हजार ७८२ मत पाउनुभयो ।

यस्तै अन्य समूहतर्फका विजयी उम्मेदवार मिश्रले तीन हजार ७४४ मत पाउनुभयो । उहाँका निकटतम एमालेका डिल्लीराज भट्टले एक हजार ८९६ मत पाउनुभयो । धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा निर्वाचन भएको थियो ।

सो निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य ५२ र स्थानीयपालिका प्रमुख र उपप्रमुख १७५ जनाले मतदान गर्नुभएको हो । मतदान भएको यो सङ्ख्या शतप्रतिशत हो । एक जना प्रदेशसभा सदस्यको मतभार ४८ र एक जना पालिका प्रमुख उपप्रमुखको मतभार १८ रहने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.