जन सरोकार

वसन्त ऋतु प्रारम्भ, बालबालिकाको अक्षरारम्भ र राष्ट्रप्रमुखबाट वसन्त श्रवण

प्रत्येक वर्ष माघ शुक्लपञ्चमीबाट वसन्त ऋतु प्रारम्भ हुन्छ । वसन्त आफैंमा सुरम्य मौसम भएकाले यसको आरम्भको दिन मानिसको जीवनको सबभन्दा महत्वपूर्ण पक्ष शिक्षाको ढोका खोलिन्छ ।

श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । यसै यामदेखि वन ढकमक्क हुन्छ । प्राकृतिक रुपमै रमाइलो वातावरणको अनुभव हुन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । ‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।

काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
राष्ट्रप्रमुखबाट वसन्त श्रवण

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नासलचोक जानु भई परम्परानुसार वसन्त श्रवण गर्नुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अवसरमा वसन्त श्रवण गर्नु भई प्रसाद ग्रहण गर्नुभयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले समेत सो अवसरमा वसन्त श्रवण गर्नुभयो । परम्पराअनुसार नासलचोकमा कलाकारले वसन्त राग प्रस्तुत गर्नुभएको थियो ।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.