राजनीति

देउवा, पौडेल र सिटौलाको सहमतिमा ४८ वर्षीया ढुंगाना नेविसंघको अध्यक्ष उमेर हद माग गर्दै अनशन बसेकाहरुको वेवास्ता

लामो समयदेखि नेतृत्वविहीन रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संघठन नेविसंघको तदर्थ समिति गठन भएको छ । पाटी सभापति शेरबहादुर देउवाले बिहिबार राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति गठन गर्नुभएको हो ।

आगामी छ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी सहित गठित तदर्थ समितिमा महामन्त्री मनोज वैद्य र महेश्वरी कुँवर रहेका छन् । सभापति देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलासँग परामर्श गरी नेविसंघ सभापति र महामन्त्री मनोनित गर्नुभएको हो । नेविसंघमा विधान मिचेर ९ जना महामन्त्री राख्ने सहमति नेताहरूबीच भइसकेको छ ।

सभापति देउवाले तीन, बरिष्ठ नेता पौडेलले तीन, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले दुई र उपसभापति विजयकुमार गच्छदारले एक जना महामन्त्री भागबन्डाका आधारमा पाउनेछन् ।

नेविसंघ विधानअनुसार महामन्त्री २ जना मात्रै बनाउन मिल्छ । त्यसमा पनि मनोनित एक र निर्वाचित एक जना हुनेछन्। तर विधान मिचेर ९ महामन्त्री बनाउन लागिएको छ। अहिले दुई महामन्त्रीका नाम सार्वजनिक गरिएको हो ।

नेविसंघमा एक सय एक सदस्यीय केन्द्रीय कार्यसमिति बनाउन मिल्ने विधानको व्यवस्था छ। तर नेताहरूले एक सय २७ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी गरेका छन् । अब केही दिनमा नेविसंघ कार्यसमितिलाई पूर्णता दिइनेछ ।

३२ वर्षे उमेरहद लागु गर्नुपर्ने मागसहित विधान कार्यान्वयन गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी आमरण अनसनमा छन् । अनसनको वास्ता नगरी सभापति देउवाले विधान मिचेरै ४८ वर्षका ढुंगानालाई नेविसंघ अध्यक्ष बनाउनुभएको हो ।

गत वर्ष माघदेखि नैनसिंह महर नेतृत्वको नेविसंघ विघटन भएपछि नेतृत्वविहीन थियो । गत वर्ष फागुन १ गते कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघलाई नेतृत्व दिन सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको थियो । जिम्मेवारी पाएको एघार महिनापछि देउवाले बिहीबार नेविसंघ सभापतिसहित महामन्त्रीहरू मनोनित गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.