राजनीति

सत्यतथ्य र यथार्थ समाचार सम्प्रेषण गर्न आयोगको आग्रह

राष्ट्रिय सूचना आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सत्यतथ्य र यथार्थ समाचार सम्प्रेषण गर्न सबैलाई आग्रह गरेको छ ।

राष्ट्रिय सूचना आयोग

आयोगले बिहीबार पत्रकार सम्मेलन गरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार बन्न सबैलाई आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा आयोगका आयुक्त एवं प्रवक्ता गगन विष्टले निर्वाचनका क्रममा फैलिने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सूचना प्रवाहलाई सत्यतथ्य र यथार्थमा आधारित बनाउनुपर्ने बताउनुभयो ।

सरोकारवालाले सार्वजनिक गर्ने निर्वाचनसम्बन्धी सूचना समयमै, सबैले बुझ्नेगरी सार्वजनिक गर्नुपर्ने प्रवक्ता विष्टले उल्लेख गर्नुभयो । गलत र भ्रामक सूचनामाथि निगरानी तथा नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय बनाइराख्न उहाँले सरकारलाई सचेत गराउनुभयो ।

निर्वाचन आयोगलाई मतदाता शिक्षा थप प्रभावकारी बनाउन, बहुभाषिक माध्यममार्फत सूचना प्रवाह गर्न तथा निर्वाचनसम्बन्धी ऐन, कानुन, निर्देशिका र आचारसंहिता समयमै सार्वजनिक गर्नुपर्ने आयोगले जनाएको छ ।

आयुक्त विष्टले राजनीतिक दल र उम्मेदवारलाई आफ्नो उम्मेदवारबारे तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न, गालीगलौज, दुष्प्रचार, मिथ्या तथा भ्रामक सूचनाको प्रयोग नगर्न निर्देशन दिनुभयो । उहाँले सम्बन्धित दलको निर्वाचनसम्बन्धी सूचना प्रवाह गर्न सूचना अधिकारी तोक्न निर्देशन दिनुभयो ।

उहाँले सञ्चारमाध्यमलाई निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्नुपर्ने बताउनुभयो । कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारका रुपमा प्रकाशन तथा प्रसारण नगर्न आयोगले सचेत गराएको छ ।

सर्वसाधारण नागरिकलाई सामाजिक सञ्जाल वा अन्य माध्यममा सूचना प्रचार गर्नुअघि त्यसको स्रोत आधिकारिक र विश्वसनीय भएको यकीन गर्न, भ्रामक सूचना देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आयोगले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.