खेलफूटबल

झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि, पुरस्कार राशी १५ लाख पुर्याइयो

झापा गोल्डकपको सातौँ संस्करणको मुख्य प्रायोजन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ले गर्ने भएको छ ।

झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित सातौँ संस्करणका लागि एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ र झापा गोल्डकपबीच शुक्रबार सम्झौता भएको छ । सम्झौता पत्रमा झापा गोल्डकपका अध्यक्ष केदार गिरी र एग्रो थाई फुड्सका कन्ट्री म्यानेजर पवन श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा यही माघ २४ गतेदेखि सञ्चालन हुने प्रतियोगिता आगामी फागुन ४ गतेसम्म चल्ने छ । यो संस्करणमा पुरस्कार राशि वृद्धि गरी प्रथम पुरस्कार रू १५ लाख र द्वितीय पुरस्कार नगद रू सात लाख ५० हजार बनाइएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विधागत पुरस्कारतर्फ ‘मस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकल प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही रू ३५ हजार नगद पुरस्कार पाउने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद रू २५ हजार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० प्रतिष्ठित टोलीको सहभागिता रहने छन् । नेपालबाट आयोजक झापा ११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभूवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन नेपाल पोखरा सहभागी हुनेछन् ।

त्यस्तै प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीमा रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) रहनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब रू एक करोड ५० लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा करिब ५० हजार दर्शकको प्रत्यक्ष सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत झापा जिल्लाका एक पुराना फुटबल खेलाडी र रङ्गशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई जनही रू २५ हजारले सम्मान तथा सहयोग प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ ।

विधागत पुरस्कारको सौजन्य अमेरिका निवासी रोशनलाल श्रेष्ठको टोलीले गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.