जन सरोकार

यसरी सुरु हुँदैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ महायज्ञ, विदेशमा रहेका नेपालीहरुको व्यापक उपस्थिति रहने

करीब ३ अर्ब रुपैयाँकोा लागतमा जनस्तरबाट चितवनको रामपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ आज (आइतबार) धान्याचल महायज्ञको शुभारम्भ हुँदैछ । ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्यका साथ सुरु गरिने महायज्ञमा पण्डित दीनबन्दु पोखरेलले प्रवचन दिनुहुनेछ भने उहाँले पारिश्रमिक पनि नलिने र उल्टै सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ ।

पण्डित पोखरेलले अन्य महायज्ञबाट लाखौं रुपैंया पारिश्रमिक लिने गरे पनि जनस्तरबाट निर्माण हुने रंगशालाका लागि पारिश्रमिक नलिने बरु थप दान गर्ने बताउनुभएको हो । निर्माणाधीन रंगशालामा सारा देशभरका नेपालीको भावना जोडिएको भन्दै उहाँले यो अभियानमा सबैले सकेको सहयोग गर्न आग्रह गर्दै आफ्नो तर्फबाट पनि महायज्ञमा दान गर्नका लागि देश विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेको जानकारी दिनुभएको छ ।

रंगशालास्थलमा हुने महायज्ञमा सहभागी हुनका लागि नै अमेरिका लगायतका देशबाट नेपालीहरु आउँदै गरेको पनि उहाँले जानकारी दिंदै यो अभियान विश्वव्यापी भइसकेको बताउनुभएको छ । माघ २६ गतेसम्म चल्ने धनधान्याचल महोत्सवको २२ बिधाका २२ जना ख्यातीप्राप्त खेलाडीहरुले एक साथ उदघाटन गर्ने प्रदेश सांसद समेत रहेका मुल आयोजक समिति संयोजक बिजय सुबेदीले जानकारी दिनुभयो । उद्घाटन समारोहलाई भव्य बनाउन मह जोडीको बिशेष उपस्थिति रहने छ ।

उदघटन दिउसो २ बजे मह जोडीले दीप प्रज्वलन गरेर हुनेछ । त्यसअघि बिहान झाँकीसहितको वृहत शोभायात्रा निकालिने छ । बिहान ११ बजे मंगलपुर बजारबाट शुरु हुने शोभा यात्रा गाबिसचोक हुँदै रंगशाला स्थित धनधान्याचल महोत्सव परिसरमा पुग्नेछ । सुवेदीले महायज्ञमा सकेसम्म कम खर्च गर्ने र सम्भव भएसम्म सौजन्यबाट काम गरिरहेको बताउनुभयो ।

महोत्सवलाई सफल पार्न १ हजार १ सय ११ सदस्यीय मूल समारोह समिति, सो समिति मातहत ५९ वटा विभिन्न उपसिमित र २ सय ८३ सदस्यीय सचिवालय गठन गरिएको छ । चितवनका ७ र नवलपुरको एक स्थानीय तहका प्रमुखहरुको नेतृत्वमा स्थानीय तह स्तरीय समिति, हरेक वडामा वडाध्यक्षको नेतृत्वमा वडास्तरीय समिति, टोल विकास संस्थाका अध्यक्षहरुको नेतृत्वमा सहयोग समिति गठन गरी हरेक घर र हरेक ब्यक्ति समक्ष रंगशाला निर्माणको प्रचारप्रसार र सहयोगको लागि अपिल गरिएको छ ।

उद्योग बाणिज्य महासंघ, उद्योग संघ, उद्योग परिसंघ, एनआरएनए, लायन्स तथा जेसिज लगायत विभिन्न सामाजिक संघसंस्थाहरुलाई केन्द्र मार्फत हरेक जिल्ला तथा त्यस मातहत रहेका निकायलाई महायज्ञमा जोड्ने प्रयास गरिएको मूल आयोजक समितिका महा सचिव दिनेश चुकेले जानकारी दिनुभयो । देशभरका ७५३ स्थानीय तह र ७७ वटै जिल्लालाई सहयोगका लागि अनुरोध पठाइएको छ ।

महोत्सवबाट ५० करोड संकलन हुने अनुमान गरिएको छ भने ७६ लाख ७६ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.