सूचना/प्रविधि

अमेरिकी बालबालिकासमक्ष सिनेटमा माफी मागे मार्क जकर्बर्गले

विश्वमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जकर्बर्गले सामाजिक सञ्जालका कारण ‘आफ्ना बालबालिकालाई हानी’ पुगेको’ भन्ने परिवारहरूसँग माफी मागेका छन्।

फेब्रुअरी १ मा अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा भएको कडा सुनुवाइका क्रममा मेटाले इन्स्टाग्राम र फेसबुक सञ्चालक जकर्बर्गले क्षमायाचनासहित प्रतिक्रिया व्यक्त गरेका हुन्।

सुनुवाईका क्रममा जकर्बर्गले पीडित बालबालिकाका परिवारतिर फर्किएर “कसैले पनि त्यस्तो भोग्नु नहुने” बताउँदै आफू त्यसप्रति सचेत रहेको बताए ।

सुनुवाईका क्रममा बोलाइएकापाँच सामाजिक सञ्जालमध्ये सबैभन्दा धेरै प्रश्न मेटाका कार्यकारी प्रमुख जकर्बर्गलाई सोधिएको थियो । उनी संसद्‌मा आठौँ पटक उपस्थित भएका हुन्।

इन्स्टाग्राममा प्रयोगकर्तालाई बालयौन दुर्व्यवहारसँग सम्बन्धित सामग्री हुन सक्ने चेतावनी दिइएको एउटा सूचना देखाउँदै रिपब्लिकन सिनेटर टेड क्रूजले जकर्बर्गलाई आक्रोशपूर्ण स्वरमा सोधे, “तपाईँले के सोच्नुभएको थियो ?” उक्त सूचनामा त्यो सामग्री जस्तो भए पनि हेर्न तयार छु भन्ने सहमति व्यक्त गर्नुपर्छ।

जकर्बर्गले “ब्लक गर्नुभन्दा” त्यस्तो सूचना प्रायः सहयोगी हुने गरेको र अन्य उपयोगी सामग्रीतिर मोडिन सघाउने भएकाले त्यसो गरिएको तर्क गरे। उनले उक्त विषयमा आफैँले हेर्ने वचनबद्धता पनि व्यक्त गरे।

सिनेटमा मेटा, टिकटक, स्न्याप, एक्स र डिस्कर्डका प्रमुखसँग दुवै पार्टीका सांसदहरूले झन्डै चार घण्टा सोधपुछ गरेका थिए। जकर्बर्ग र टिकटकका सीईओ शो जी चू दुवै जना स्वेच्छापूर्वक बयान दिन सहमत भएका थिए।

तर स्न्याप, एक्स र डिस्कर्डका प्रमुखहरूले सुरुमा सुनुवाइमा उपस्थित हुन अस्वीकार गरेका थिए। त्यसपछि सरकारले संसदीय सुनुवाइमा उपस्थित हुन उनीहरूलाई लिखित निर्देशन दिएको थियो।

सुनुवाइका क्रममा पाँच कम्पनीका प्रमुखभन्दा पछाडि ूसामाजिक सञ्जालमा प्रेषित सामग्री हेरेर आफूलाई हानि पुर्‍याएका वा आत्महत्या गरेकाू बालबालिकाका परिवारजन बसेका थिए।

उनीहरूले सुनुवाइको पूरै अवधिभरि विभिन्न किसिमले आफ्ना भावना अभिव्यक्त गरेका थिए। सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीका प्रमुख आइपुग्दा उनीहरूले ठूलो आवाज निकालेका थिए भने सांसदहरूले कडा प्रश्न सोध्दा ताली बजाएका थिए।

उक्त सुनुवाइ विशेष गरी बालबालिकालाई कसरी अनलाइन यौन शोषणबाट जोगाउने भन्नेमा केन्द्रित थियो। तर पाँचवटा सञ्जालका शक्तिशाली प्रमुखहरू शपथ लिएर सुनुवाइका लागि उपस्थित भएको अवसरको सदुपयोग गर्दै सांसदहरूले विभिन्न किसिमका प्रश्न सोधेका थिए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.