कोरोना भाइरसको नयाँ तथ्य बाहिरियो- महिलामाभन्दा पुरुषमा बढी संक्रमण
चीनको द चाइना सेन्ट्रर्स फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले प्रकाशित गरेको एउटा विवरणले कोरोना भाइरसबाट महिलाभन्दा पुरुष बढी संक्रमित हुने देखाएको छ । उसको विवरणमा १.२ पुरुष प्रभावित हुँदा १ महिला प्रभावित भएका छन् ।
त्यस्तै विज्ञहरुले यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ ? यसका लक्षणहरू के हुन् ? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ ? यसको उपचार कसरी हुन्छ ? भन्ने प्रश्नको उत्तर महामारीको सबैभन्दा ठूलो मार झेलिरहेको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ ।
त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको छ । जस अनुसार अस्पताल भर्ना भएका सबैको फोक्सोमा आक्रमण भएको छ ।
भर्ना भएका सबै ९९ बिरामीलाई अस्पताल लगिँदा निमोनियाको सङ्क्रमण देखिएको थियो । त्यसका लक्षणमा ८२ जनालाई ज्वरो आएको थियो, ८१ जनालाई रुघाखोकी लागेको थियो, ३१ जनाको श्वासप्रश्वासमा समस्या भएको थियो, ११ जनालाई मांसपेशी दुख्ने समस्या थियो, ९ जनामा मिश्रित समस्या देखिएको थियो, ८ जनालाई टाउको दुखेको थियो, ५ जनाको घाँटीमा सङ्क्रमण भएको थियो ।
यो भाइरसबाट अधबैँसेहरू धेरै प्रभावित हुने देखिएको छ । अस्पताल भनाए भएका ९९ बिरामीमध्ये धेरैजसो अधबैँसे थिए । उनीहरूको औसत आयु ५६ थियो र ६७ जना पुरुष थिए ।
यो नयाँ भाइरसलाई 2019-nCoV नामकरण गरिएको छ । ह्वानेनस्थित एउटा समुद्री खाद्यपदार्थ बजारमा जिउँदै बेच्न राखिएका जीवबाट उक्त भाइरस फैलिएको अनुमान छ । सङ्क्रमण भएको पहिला पुष्टि भएका ९९ जनामध्ये ४९ जनाको उक्त बजारसँग प्रत्यक्ष सम्बन्ध थियो । दुई जना सामान किन्न गएका ग्राहक थिए भने ४७ जना त्यहीँ काम गर्थे।