अर्थ

मुलुकको आर्थिक संकट र बढ्दो हुण्डी करोबार

हुण्डीबाट भित्रिने रकमले आर्थिक–सामाजिक–राजनीतिक तीनवटै पक्षलाई क्षति पुर्याउन सक्दैन भन्ने आधार हुन्न

नेपाल आर्थिक संकटमा छ । आयात धानिरहेको विप्रेषण आप्रवाहमा कमी हुनु र वैदेशिक मुद्राको संचिति घटिरहनुको कारण अवैध आर्थिक कारोबार मौलाउँदै गरेको पाइनुले देशको अर्थतन्त्र मात्र हैन राजनीतिक अस्थिरताको समेत संकेत गरिरहेको छ ।

विशेषतः मुलुकको राजनीतिक अस्थिरता, आर्थिक अनुशासनको कमी, महंगी, अभाव बढ्न थालेपछि हुण्डी कारोबार बढ्न थाल्दछ । अझ शान्ति सुरक्षाको फितलो व्यवस्थाप हुँदा अवैध र अनधिकृत व्यापार बढ्ने र त्यस्तो बेला हुण्डीको कारोबार बढी हुने गर्दछ ।

हुण्डीबाट भित्रिने रकम वैदेशिक रोजगारीबाट मात्र आउँदैन । यस्तो रकम सत्ता परिवर्तन, राजनीतिक आन्दोलन, विखण्डनकारी गतिविधि तथा समाजमा अशान्ति मच्चाउन पनि प्रयोग हुनसक्छ । हुण्डीबाट आएको सबै रकम सही प्रयोजनकै लागि आएको मान्न सकिंदैन । अनि यसले मुलुकको विदेशी मुद्राको सञ्चिति घटाउँछ ।अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ । त्यसैले हुण्डी मुलुकको अर्थतन्त्रलाई कमजोर बनाउने अबैध कारोबार हो ।

हुण्डीबाट भित्रिने रकमले आर्थिक–सामाजिक–राजनीतिक तीनवटै पक्षलाई क्षति पुर्याउन सक्दैन भन्ने आधार हुन्न । अझ चुनावका बेला यस्तो रकम बढी भित्रिन्छ । हुण्डी रोक्न जति प्रयास गरिएको छ त्यो अपर्याप्त छ । हुण्डीबाट रकम भित्रिने मात्र हैन बाहिरिने क्रम रोक्न नसक्दासम्म आर्थिक समृद्धिमा अबरोध आइरहन्छ ।

अवैध रकम सुरक्षित रुपमा उता–यता गर्ने कारोबार नै हुण्डी हो । यो काम रेमिट्यान्स कम्पनीको भन्दा छिटो र सस्तो पनि पर्न आउँछ । अनि कर तिर्नपर्दैन । आपसी विश्वासका आधारमा यो कारोबार हुन्छ ।

निश्चित कमिशनका आधारमा यस्तो काम गर्नेहरुले ठूला र शक्तिशाली व्यक्तिदेखि नाम कहलिएको उद्योगी–व्यवसायीहरुको समेत रकम ओसारपसार गर्दछन् । स्वीस बैंकमा जम्मा भएको रकम होस् पानामा पेपर्सको खुलासा यी सबै हुण्डीकै माध्यमबाट भएका हुन्छन् ।

यति मात्र हैन, आतंकवाद, लागूऔषध कारोबार, सुन तस्करी तथा हतियार तस्करहरुले पनि हुण्डीकै माध्यमबाट रकम ओसारपसार गर्दछन् । हुण्डीबाट भित्रिने रकम अवैध हुने र राष्ट्रिय आयमा त्यसको गणना नहुने हुँदा त्यो रकम कहाँ परिचालन भयो पत्तो हुँदैन । त्यस्तो रकम आपराधिक वा आतंकवादी गतिविधिमा पनि प्रयोग हुनसक्ने भएकाले यसलाई कडाई गरिएको हो । सम्पत्ति शुद्धीकरणको विश्वव्यापी सञ्जाल त्यसैका लागि गठन भएको हो ।

हुण्डी कारोबार असंगठित र अनौपचारिक रूपमा हुने गरेकाले यसमा संलग्नहरूले प्रायः व्यक्तिगत सम्बन्ध, सम्पर्क र विश्वासका आधारमा कारोबार गर्ने गर्छन् । कारोबार गर्नेसँग रकम बुझाएको, भुक्तानी गरेको लिखित प्रमाण हुँदैन ।

कतिपय अवस्थामा रकम बिचैमा हराएका समाचार बाहिर आए पनि अनुसन्धान गर्ने आधार हुँदैन । यो आफैंमा अबैध कारोबार भएकाले हुण्डीवालाले बेइमानी गरी भुक्तानी नदिए कानूनी उपचारको बाटोसमेत समात्न सकिंदैन । यति हुँदाहुँदै पनि मानिसहरूले अझैसम्म हुण्डी प्रयोग गरिरहेकै छन्– विश्वासको आधाधारमा अनि करछलीका लागि ।

अर्कोतिर अवैध रकम यसै पनि जोखिममै पर्ने हुँदा सुरक्षित पुगे आनन्दै नपुगे पनि चिन्ताा नहुने देखिन्छ । त्यसो त सामान्य व्यक्तिले समेत अन्जानमा हुण्डीमार्फत पैसा पठाउँदा विचल्लीमा परेका समाचारहरु बेलाबेलामा नआउने हैन । वैदेशिक रोजगारीमा गएकाहरु यस्तो समस्यामा पर्ने गरेका छन् ।

हुन त, पहिले वैदेशिक रोजगारीमा जानेहरुले पनि हुण्डीबाटै रकम पठाउने गरेका थिए । बैंकिङ् पद्धतिबाट रकम पठाउने व्यवस्था गर्नुअघि ९० प्रतिशतसम्म रकम हुण्डीबाट आउँथ्यो अहिले त्यसको विपरीत छ । तर पनि विदेशबाट आउने र विदेशिने ३० प्रतिशत रकम अझै पनि हुण्डीकै कारोबार हुने आँकलन बैंकिङ्ग क्षेत्रका अधिकारीहरुको छ । त्यो रकम रेमिट्यान्सको भन्दा बढी पनि हुनसक्छ ।

अहिले अवैध मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि बढिरहको छ । नेपालमा यसको सञ्जाल नै स्थापना भएको केही दिनअघि प्रहरीले सार्वजनिक गरिसकेको छ । यसलाई रोक्न नसके मुलुकमा रकम त भित्रिने तर राष्ट्रिय ढुकुटीमा नपुग्ने र त्यस्तो रकम मुलकमा बेथिति सिर्जना गर्न पनि प्रयोग हुनसक्नेतर्फ सचेत हुनुपर्छ ।

अर्थतन्त्रको वास्तविकता लुकाएर जनतामा भ्रम छरेर बस्नुको साटो सरकारले स्पष्ट र प्रभावकारी रणनीति लिएर मुलुकको अर्थतन्त्रका साथै सामाजिक, राजनीतिक क्षेत्रमा पनि स्थिरता कायम गर्ने योजना अघि सारिहाल्नु नितान्त आवश्यक भैसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.