राजनीति

सभामुखबिरुद्ध महाभियोग प्रस्ताव आए एमालेले साथ दिन्छ

एमालेको आफ्नै एजेण्डा छ, कसैसंग कुनै गठबन्धन गरेर चुनावमा भाग लिंदैन

नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधान अनुसार नचल्ने सभामुख बिरुद्ध नेपाली कांग्रेसले महाभियोग प्रस्ताव ल्याए एमालेले साथ दिने तर एमालेले त्यस्तो प्रस्ताव नल्याउने बताउनुभएको छ ।

बिहिबार आयोजित साक्षात्कारमा उहाँले सभामुख सापकोटालाई हटाउँदा नै राम्रो हुने बताउँदै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।”

त्यसै गरी उहाँले एमसीसी फेल वा पास गर्न र सभामुखमाथि महाभियोग लगाउन पनि एमालेसंग बहुमत नरहेको बताउँदै कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने एमालेले त्यसमा साथ दिने बताउनुभयो ।

एक अर्को प्रसंगमा सचिव रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पार्दै एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जाने र एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा नचाहिने नेपाली जनताको समर्थन र सहारा चाहिएको बताउनुभयो ।

नयाँ संविधान बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले विकास र समृद्धिका अभियान तिव्र रुपमा अघि बढाएको दावी गर्दै सचिव रायमाझीले राष्ट्रियता, सामाजिक सुरक्षा र न्यायको पक्षमा एमाले अग्रपँक्तिमा उभिएको र जनताले ठूलो समर्थन जनाएका छन् । त्यसैले एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको पनि जिकिर गर्नुभयो ।

सायमाझीले थप भन्नुभयो, “केपी ओलीको नेतृत्वको सरकारको पालामा विकास र समृद्धिको अभियान तिव्र रुपमा अघि बढिरहेको थियो, तर अहिलेको सरकार आएपछि अर्थतन्त्र धरायशी भएको छ । जताततै खिचलो भएको छ । संकटको घडीमा पनि ओली सरकारले राम्रो काम गरेको थियो । तर, अहिलेको सरकारले केही काम गरेको छैन् । जनता अत्यन्तै निराश छन् ।”

त्यसै गरी सचिव रायमाझीले एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो, “हामी अहिले प्रतिपक्षमा छौं । एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुँगो लगाओस । संसद्मा टेबुल भएपछि हामी सोच्छौं। अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.