अर्थजन सरोकार

मनोरञ्जन कर तिर्न महानगरको ताकेता

काठमाडौँ महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यसपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न ताकेता गरेको हो ।

प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले १५ दिनको समय दिएर पत्र पठाएका छौँ । यस अवधिमा कर तिर्नुभएन भने काठमाडौँ महानगरपालिका आर्थिक ऐनको दफा २१ बमोजिम कारबाही हुनेछ । यसमा आपत्कालीनबाहेकका सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकीसरह असुल गर्नेसम्मका व्यवस्था छन् ।”

यी मनोरञ्जनस्थलमा प्रवेश गर्ने प्रतिटिकट पाँच प्रतिशत मनोरञ्जन कर लाग्ने व्यवस्था रहेको छ । राजस्व अधिकृत सोना शर्मा भन्नुहुन्छ, “टिकट नलाग्ने ठाउँमा कसरी कर लिने हामीले प्रदेश सरकारलाई सोधेका छौँ । यो कर प्रदेश सरकार र स्थानीय सरकारको साझा अधिकार क्षेत्रमा रहेको कर शीर्षक हो ।”

महानगरपालिकाले पत्राचार गरेको क्लब, दोहोरी तथा बारहरू जेपी रोडको रिफ्रेस डान्स बार, क्षेत्रपाटीको नटराज डान्स बार, पकनाजोलको आरके डान्स बार, फायर चोकको कारटार क्लब, ड्रिडक होस्टन डान्स बार, होनी वी डान्स बार, नरसिंह चोकको स्कुटी क्लब, ओलो क्लब, डेला सोलबार, नमस्ते पप बार, द क्लब हाउस, घामछायाँ रोधी क्लब, बेबो डान्स बार, टकिला डान्स बार, क्विनमहल डान्स बार, बज्र डान्स बार, सञ्चयकोष चोकको ओमनिया क्लब, भिआइपी क्लब, नसा डान्स बार, मिडनाइट डान्स बार, ज्याठाको चाहना डान्स बार र अमृत मार्गको ड्रागन डान्स बारलाई कर तिर्न पत्राचार गरेको हो ।

यस्तै ठमेल क्षेत्रका एलओडी क्लब, क्लाइमेट क्लब, पोताला क्लब, टेनएक्स क्लब, फूलमुन क्लब, सफर क्लब, काराओके, टप राजधानी दोहोरी, मुजुरा डान्स बार, ठमेल डान्स बार, डान्सिङ याक बार, वियरवार डान्स बार, भगवती मार्गको रोज डान्स बार, स्काई डान्स बार, चाक्सीबारी मार्गको अमिर डान्स बारलाई पनि पत्राचार गरिएको महानगरले जनाएको छ । यस्तै गल्कोपाखाका गुन्यूचोली दोहोरी, अल्फाबिटा बारलाई पत्र पठाइएको छ । ठमेल क्षेत्र लक्षित मनोरञ्जनात्मक व्यवसाय गर्ने साम्स बार, दुनियाँ बार, टिफिने बार र एच ट्वान्टी बार क्लब रहेका छन् ।

काठमाडौँ महानगरभित्र पहेँला पेट्रोलपम्प
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका पेट्रोलपम्पमा पहिचान तथा एकरुपताका लागि पहेँलो रङ लगाइने भएको छ । काठमाडौँ महानगरपालिकाको सम्मन्वयमा पेट्रोलपम्प सञ्चालक, सरोकारवाला सङ्घसंस्था तथा निकायका प्रतिनिधिको बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौँ महानगर क्षेत्रमा ४९ वटा पम्प रहेका छन् । पहिलो चरणमा फागुन पहिलो सातासम्म नमूनाका रूपमा चारवटा पम्पमा पहेँलो रङ लगाइने छ । त्यसपछि अन्य पम्पमा रङ लगाइँदै जाने महानगरको तयारी छ ।

बैठकले पेट्रोलपम्पमा सेवाग्राहीलाई निःशुल्क शौचालय उपलव्ध भएको जानकारीमूलक बोर्ड झुन्ड्याउने, पम्पमा इन्धन भर्ने व्यक्तिले खैरो रङको व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) लगाउने र पम्प परिसरलाई हरियाली बनाउने निर्णय गरेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । पम्पमा कार्यरत कर्मचारीलाई काठमाडौँ महानगरले आधारभूत अग्निनियन्त्रण तालिम दिने निर्णय भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.