जन सरोकार

आम हड्ताल- देशका शहरी क्षेत्रमा प्रभावित, ठाउँठाउँमा आगजनी र तोडफोड

बिहिबार नेकपाको प्रचण्ड माधव नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव देशभरका शहरी क्षेत्रमा परेको छ । यो समाचार तयार पार्दासम्म देशभर ९७ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यकामा विहानैदेखि परेको छ । उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सवारीसाधनमाथि आगजनी तथा तोडफोड भएको छ । नेपाल प्रहरीले स्कर्टिङ गरेर समेत केही सार्वजनिक सवारीलाई बाहिर पठाएको छ ।

उपत्यकाका मुख्य सडकमा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता देखिएका छन् भने भित्री सडकमा सवारीसाधनहरु चलेका छन् । पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् । शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

बिहीबार एकाबिहानै सामाखुशीमा अज्ञात समूहले प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको छ । महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार बिहान साढे ६ बजे भएको आगजनीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको छ ।

बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चितवनमा चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।

बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् । यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

उता सुदूरपश्चिम डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ । आमहडतालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन । जिल्लामा बिहानैदेखि बजार व्यवसाय, सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आमहडतालसहित बन्द घोषणा गरेपछि सुरक्षा हाइअलर्ट राखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

बिहानैदेखि प्रहरीको स्कटिङमा यातायात सेवा सञ्चालन गरिएको छ । लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म डडेल्धुरामा कुनै अप्रिय घटना नभएको प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो ।

यसबीच कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौँबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ः०० बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताउनुभयो ।

बसका रहेका यात्रु भने सकुसल रहेको उहाँले जानकारी दिनुभयो । “ढुङ्गा प्रहार गर्नेको पहिचान भएको छैन”, उहाँले भन्नुभयो, “खोजी कार्य जारी राखेका छौँ ।”

बन्दका क्रममा विभिन्न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारी साधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पुर्याउने कार्य गरिरहेको छ । बजार क्षेत्रलगायत पूर्वपश्चिम राजमार्गमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.