यात्रु बनेका बन्दकर्ताले चालक कुम्भनारायणलाई भित्रै राखेर यसरी लगाए आगो

विहानको झिसमिसेदेखि आधारातसम्म पसिना बगाएर जहान छोराछारी पाल्ने मजदुरहरुका लागि राजनीतिक दलका नेताको सत्तारोहण, सत्तावहिर्गमनसंग कुनै मतलब हुने कुरा भएन । उनीहरुलाई मात्र सडक शान्त भए पुग्छ मेहेनत गर्न ।
यस्तै मेहेनत गरिरहेका मजदुर हुन वर्षीय कुम्भनारायण श्रेष्ठ । एक दशकदेखि उपत्यकामा ट्याक्सी चलाइरहेका उनी सदाझै बिहीबार पनि एकाबिहानै ट्याक्सी लिएर सडकमा निस्किए । थपाथलीबाट यात्रु बोकेर सोह्रखुट्टे पुगे । त्यहीँबाट सामाखुशी जाने मान्छे भेटे । विहानै लगातार यात्रु पाएका उनी खुसी थिए ।
तर, सामुखशीबाट फर्किनै लाग्दा एकजना व्यक्तिले चाबहिल जाउँ भने । तिनै यात्रु उनको ट्याक्सीको दुश्मन निस्किए । राम्रोसंग उज्यालो पनि नभइसकेको अवस्थामा उनले ती व्यक्तिलाई राम्रोसँग हेर्न पनि पाएका थिएनन् । सिटबेल्ट बाँधेर उनी स्टेरिङमा मात्रै के बसेका थिए, नसोचेको दृश्य देख्नु पर्यो । पछाडि राखिएको चकटीमा आगो दन्किरहेको थियो ।
आत्तिँदै चकटी फ्याकेँ तर, अघि चाबहिल जान्छु भन्नेसँगै आएका व्यक्तिले पेट्रोल खन्याइसकेका रहेछन्, निभाउन सम्भव भएन । आफ्नो गरिखाने ट्याक्सीमा आगो बलिरहँदा हेरिरहन शिवाय केही गर्न सकेनन् । आफू तत्कालै ट्याक्सीबाट बाहिर ननिस्किएको भए ाई पनि समस्या हुने थियो ।
धन्न उनको ज्यान चाहिँ जोगियो तर ट्याक्सी जलेपछि साहुले के भन्लान् भन्ने चिन्ताले सताएको छ । यद्यपि, सम्बन्धित निकायले क्षतिपूर्ति दिन्छ कि भन्ने आश भने रहेको उनले सुनाए ।
ट्याक्सी जलेपछि कुम्भनारायणको भविष्य पनि जलेको छ । ४१ वर्षका उनी भविष्यमा के गरेर खाने भन्ने चिन्ताले सताएको मात्रै छैन ट्याक्सीको क्षतिपूर्ति पनि आफैंले साहुलाई तिर्नुपर्ने हो कि भन्ने चिन्ताले थप सताएको छ । मजदूर, निमुखा, किसानको हितमा राजनीति गर्ने भन्नेहरुले बन्द, हड्तालमा पहिलो निसाना यिनै वर्गलाई पार्ने गरेका छन् ।
बन्दका दिन काठमाडौंका सडकमा गुड्ने सवारीसाधन मात्र हैन तरकारी बेच्ने ठेलादेखि अन्य सामान्य व्यापार गर्नेहरुलाई पनि निसाना बनाउने गरिन्छ । यो अहिले मात्र हैन विगतदेखिकै निरन्तरता हो ।
प्रतिक्रिया राख्नुहोस्