जन सरोकार

उद्धार गरेर आश्रयस्थलमा हुर्काइएकी कन्याको भयो धुमधामसंग विवाह

भरतपुरको आदर्श गृहको संरक्षणमा हुर्किएकी अस्मिता तिवारीको धुमधामसँग विवाह गरिएको छ । विसं २०७२ मा बाँकेको कोहलपुरबाट उद्धार गरी ल्याएर आश्रयसँगै शिक्षादीक्षा दिएको संस्था आदर्श गृहले अस्मितालाई बेहुली बनाएर पठाएको छ ।

स्याङ्जाको वालिङ घर भई हाल भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुरमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका मणि सुवेदीसँग २३ वर्षीया अस्मिताको सनातनी परम्पराअनुसार विवाह गरिएको हो ।

आदर्श गृहकी संरक्षक एवं अधिकारकर्मी मीना खरेलले अस्मिताको कन्यादान दिनुभएको थियो । विवाहपछि खुसी हुँदै तिवारीले आदर्श गृहले जन्म दिने बाबुआमालेभन्दा पनि बढी जिम्मेवारी पूरा गरेको प्रतिक्रया दिनुभयो ।

सानैमा आमा गुमाएकी अस्मिता बाबुआमाको संरक्षणविना नै आफन्तको घरमा बस्दै गर्दा त्यहाँ पनि त्यति सहज महसुस नभएपछि उहाँ आदर्श गृहको आश्रयमा आउनुभएको थियो ।

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा कक्षा १२ उत्तीर्ण अस्मितालाई स्याङ्जाका सुवेदीले माग्न आएपछि सबैको सल्लाहमा नै विवाह गरिदिएको आदर्श गृहकी संरक्षक खरेलले बताउनुभयो ।

सुवेदीले अस्मितालाई आफूले देख्दा असल संस्कारी भएका कारण नै आफूले आफ्ना अभिभावक लिएर अस्मितालाई जीवन साथी बनाउने प्रस्ताव लिएर गएको बताउनुभयो । भरतपुरमै व्यवसाय गर्दै आउनुभएका सुवेदीले आफूले अस्मितालाई असल अभिभावकत्व दिने पनि बताउनुभयो ।

आदर्श गृहमा अहिले पनि ३२ जना महिला तथा किशोरी आश्रित छन् । दाताहरूकै भरमा चलेको यो आश्रममा रहने महिलालाई विभिन्न आयआर्जनका सीप पनि सिकाइन्छ ।

अहिलेसम्म यो आश्रमले एक हजार एक सय ७६ जना महिला तथा किशोरीलाई समाजमा पुनःस्थापित गराइसकेको छ । यीमध्ये ४६ जनाको विवाह भइसकेको गृहकी संरक्षक खरेलले जानकारी दिनुभयो ।

आदर्श गृहबाटै धार्मिक परम्पराअनुसार यो पहिलो मागी विवाह भएको उहाँले जानकारी दिनुभयो । अस्मिताको वैवाहिक समारोहमा उहाँलाई बधाई तथा सुखद् दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्न सामाजिक अभियन्ता तथा राजनीतिकर्मीकोसमेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.