राजनीति

समृद्धि अभियान साकार पार्न एमालेको बहुमत सरकार आवश्यक छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि अभियान साकार पार्न आफ्नो पार्टीको बहुमतको सरकार आवश्यक भएको बताउनुभएको छ ।

अध्यक्ष ओली

सोमबार महोत्तरीको जलेश्वरमा नेकपा (एमाले) को छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्नुहुँदै ओलीले देशको नेतृत्व गर्ने अवसरका लागि आफ्नो दलले अब २०८४ को चुनावको प्रतीक्षा गरिरहेको बताउनुभयो ।

“हामी जिम्मेवारीसाथ मुलुकको नेतृत्व गर्न चाहन्छौँ, तर अहिलेको गठबन्धन भत्काउनतिर हामी लाग्दैनौं”, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले आफू नेतृत्वको सरकारले थालेका विकास–निर्माणका परियोजनालाई गठबन्धन सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले दक्षता, क्षमता र कामप्रतिको तत्परता बढाउन आफ्ना पार्टीका नेता तथा कार्यकर्तासँग अपिल गर्नुभयो । “अवसर पाइन भनेर मन कुँड्याएर नबस्नोस्, योग्यता बढाउनोस्, अवसर तपाईंलाई खोज्दै आइपुग्छ,” उहाँले भन्नुभयो । जनताबीच विनम्र भएर प्रस्तुत हुने कार्यकर्ता एमालेका हुनपर्ने उहाँको भनाइ थियो ।

एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का सचिव रघुवीर महासेठले देश निर्माणको जिम्मेवारी पुनः नेकपा एमालेको काँधमा आउने बताउनुभयो । उहाँहरुले त्यसका लागि अझै चार वर्ष भने पर्खनुपर्ने बताउनुभयो ।

एमाले महोत्तरीका सङ्गठन कमिटीका संयोजक कालीचन्द्र साहको अध्यक्षतामा भएको थियो । एमाले अधिवेशनको बन्दसत्र आजै राति प्रारम्भ भई भोलि बिहानसम्ममा नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.