राजनीति

बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष ओली

झापामा नवनिर्मित दश मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’को मंगलबार एक समारोहबीच उद्घाटन गर्दै अध्यक्ष ओलीले उद्यमशीलताको विकासका लागि ऊर्जा महत्त्वपूर्ण आधार हुने बताउनुभयो ।

“ब्रेन ड्रेन र मसल ड्रेनको जुन समस्या छ, त्यसलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना हुने परियोजना स्थापना जरुरी हुन्छ”, उहाँले भन्नुभयो । मुलुकमा ६० प्रतिशत जनशक्ति श्रमयोग्य र ४० प्रतिशत जनशक्ति युवा भएको अवस्थामा जनसाङ्ख्यिक लाभ लिनका लागि उहाँले आफू प्रधानमन्त्री भएको बेला शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखेर कर्जा लिन पाउने व्यवस्थाको सुरुआत गरेको स्मरण गर्नुभयो ।

अध्यक्ष ओलीले नेपालमा विकास हुनसक्छ भन्ने उदाहरण झापा इनर्जी रहेको उल्लेख गर्दै कृषि, ऊर्जा र प्रविधिमा फड्को मार्ने विकास आवश्यक भएको बताउनुभयो । नेपालमा जलविद्युत् मात्र ऊर्जाको स्रोत भनेर बुझ्न नहुने भन्दै उहाँले सौर्य र हाइड्रोजन ऊर्जाको सम्भावना खोज्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा झापा इनर्जी लिमिटेडका अध्यक्ष एवं सांसद एलपी साँवाले परियोजनाबाट वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन र बर्सेनि रु १२ करोड ८५ लाख आम्दानी हुने जानकारी दिनुभयो । परियोजनास्थललाई पुष्प बगैंचाको रुपमा समेत विकास गरी आन्तरिक पर्यटक आकर्षित गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

झापा इनर्जी कोशी प्रदेशको सबैभन्दा बढी क्षमताको सौर्य ऊर्जा परियोजना हो । पूर्वसभामुख स्व सुभाषचन्द्र नेम्वाङले दुई वर्षअघि परियोजनाको शिलान्यास गर्नुभएको थियो । नेपाल विद्युत् प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सवस्टेसनमा उक्त सौर्य ऊर्जा जोडिएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित झापा इनर्जी प्रालिबाट उत्पादित दश मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रशारण लाइनमा गत पुस ११ गतेदेखि जोडिएको छ । पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा परियोजनाको सौर्य प्यानल राखिएको छ ।

झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य साँवाको नेतृत्वमा रु ८७ करोडको लगानीमा चार वर्षअघि परियोजना निर्माण सुरु भएको हो । परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत पब्लिक शेयर रहेको छ । झापा इनर्जी प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.