जन सरोकार

सेना प्रहरीबाट राजिनामा दिएर विदेश पलायन बढ्दो, गम्भीर सामाजिक चुनौति

नेपालमा सरकारी जागिर खानेहरुको भविष्य सुरक्षित रहेको मान्यता विगतमा थियो । अवधि रहँदासम्म काम त्यसपछि पेन्सनले बुढेसकाल चल्ने अवस्थामा त्यो भनाई सही थियो ।

तर, अहिले परिस्थिति बदलिएको छ । न्यूनतम तलब सुविधाले विद्यमान आकांक्षा पूरा हुन नसक्ने भएकाले सेना, प्रहरीको जागिर छाडेर विदेश पलायन हुनेहरुको संख्या बढेको छ ।

पछिल्लो समय रुस युक्रेन युद्धपछि रुसी सरकारले विदेशी युवाहरुलाई आफ्नो सेनामा भर्ना लिन आव्हान गरेपछि नेपालीहरुको आकर्षण त्यता बढेको छ ।

नेपालको वर्तमान परराष्ट्र नीति अनुसार भारतीय र बेलायती गोर्खा सेनामा बाहेक अन्यत्र भर्ना हुन पाइँदैन । तर, अवैध तरिकाले दलालमार्फत रुसी सेनामा भर्ना हुने नेपालीको संख्या निकै बढी छ ।

रुसी सेनामा भर्ना भएकाहरुमध्ये एक दर्जनभन्दा बढीको मृत्यु भैसकेको छ भने कैयौं युक्रेनको बन्दी बनेको बताइन्छ । नेपालीहरुलाई रुसी सेनामा भर्ना गराउने गिरोह नै पक्राउ परिसकेको छ ।

तैपनि गिरोहको प्रलोभनमा परी भूतपूर्व सैनिक, प्रहरी र पूर्वमाओवादी लडाकुलाई रुसी सेनामा पठाउने क्रम रोकिएको छैन ।

नेपाली सेना, प्रहरी, सशस्त्रबाट राजीनामा दिएर थप केही व्यक्ति रुस पुगेको पाइएको छ । रुसले युक्रेनविरुद्ध युद्धमा झन्डै दुई हजारभन्दा बढी नेपाली युवालाई रुसी सेनामा भर्ना गरेको अनुमान गरिएको छ ।

सेना र प्रहरीमा वहाल रहेकाबखत नै विदेश जाँदा बढी अवसर पाइने आशामा अहिले ती निकायहरुमा राजीनामा दिनेको लर्को लागेको छ । यसमा सबैभन्दा बढी नेपाल प्रहरीका सदस्य रहेकका छन् ।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा सेवा अवधि पूरा नगरी चार हजार ६३७ जनाले सङ्गठन छाडेका छन् । राजीनामा दिनेमा सबैभन्दा प्रहरी हवलदार दुई हजार १४० जना छन् ।

यसै गरी प्रहरी नायब उपरीक्षक डिएसपी १५, प्रहरी निरीक्षक ३३, प्रहरी वरिष्ठ नायब निरीक्षक २०, प्रहरी नायब निरीक्षक २९८, प्रहरी सहायक निरीक्षक ८३३, प्रहरी वरिष्ठ हवलदार १६३, प्रहरी हवलदार दुई हजार १४०, प्रहरी सहायक हवलदार १७५, प्रहरी जवान ६८७ र प्रकाश (परिचर) २११ जना रहेका छन् ।

यसै गरी सशस्त्र प्रहरीमा पछिल्लो पाँच वर्षमा चार हजार १२० जनाले सेवा अवधि पूरा नगरी जागिर छाडेका छन्, जसमध्ये सबैभन्दा बढी जागिर छाड्नेको सङ्ख्या जवानको रहेको छ ।

त्यसै गरी नेपाली सेनामा सेवा अवधि पूरा नगरी जागिर छाड्नेको सङ्ख्या मासिक नौ सय जना रहेको छ । पेन्सन अवधि पूरा गरेका वार्षिक तीन हजार पाँच सय जनाले राजीनामा दिने गरेको पाइएको छ । राजीनामा दिने र अन्य कारण गरी सेनामा वार्षिक छ हजार पाँच सय पद रिक्त हुने गरेको छ ।

किन दिन्छन राजीनामा ?

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले हरेक व्यक्तिले जस्तै प्रहरी कर्मचारीले थप अवसरको खोजी गर्ने भएकाले राजीनामा दिने गरेको बताउनुभयो । उहाँले सङ्गठनलाई थप व्यावसायिक बनाउन र सेवासुविधा बढाउन सके सङ्गठनबाट बाहिरिने क्रम रोकिने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी प्रवक्ता राजेन्द्र खड्काले तालिमप्राप्त सुरक्षाकर्मीका लागि अवसर र सेवासुविधा तुलनात्मक रूपमा बढी हुने भएकाले अवसरको खोजीका लागि जागिर छाड्ने गरेको बताउनुभयो ।

“तालिमप्राप्त सुरक्षाकर्मीले अन्य अवसर पाउने र हरेक व्यक्ति नयाँ अवसरको खोजी गर्ने भएकाले जागिर छाडने क्रम चलेको हो । यसलाई रोक्न सङ्गठनभित्र नै वृत्तिविकास र सेवासुविधा बढाउनेतर्फ पहल गरिरहेका छौँ,” खड्काले भन्नुभयो ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले सेनामा पेन्सन अवधि पूरा गरेपछि अन्य पेसा, व्यवसाय अपनाउन र नयाँ अवसरको पनि खोजी गर्ने उद्देश्यले राजीनामा दिने गरेको हुन सक्ने बताउनुभयो ।

भण्डारीले भन्नुभयो, “सेनामा नियमित तलबबाहेक कल्याणकारी कोषबाट थप राहत र थप सुविधा उपलब्ध हुन्छ तर पनि कतिपयले फरक काम र थप अवसरको खोजी गर्ने क्रममा जागिर छाडेको हुन सक्छ ।”

सुरक्षा निकायमा उपल्लो दर्जाका सुरक्षा अधिकारीको राजीनामाले बेला बेला तरङ्ग पैदा हुने गरेको भए पनि सुरक्षार्थ दैनिक फिल्डमा खटिने अधिकृतदेखि तल्लो दर्जाका हजारौँ सुरक्षाकर्मीको राजीनामा भने गुमनाम जस्तै हुने गरेको छ ।

सेवा अवधि पूरा नगरी वार्षिक हजारौँ सुरक्षाकर्मी बाहिरिँदा सङ्गठनको संरचनामै असर पुग्नेतर्फ भने राज्यको ध्यान पुग्न सकेको देखिँदैन । खाली पदमा पदपूर्ति गर्ने प्रक्रिया लामो हुने र सङ्गठनको अथक मेहनतले तयार भएको जनशक्ति बाहिरिने क्रम नरोकिँदा पदपूर्ति गर्न नै हम्मे हम्मे पर्न थालेको छ ।

सङ्गठनबाट बाहिरिने अधिकांश सुरक्षाकर्मी वैदेशिक रोजगार तथा निजी सुरक्षा निकायमा भर्ना हुने क्रम बढेको छ । यो मुलुको सुरक्षाका लागि मात्र होइन आम जनतामाा भरोसा दिलाउने विषयलाई पनि गम्भीर चुनौति हो ।

नेपालमा केही हुँदैन भन्ने भाष्य खडा भैरहेका बेला सेना, प्रहरीको उच्च पदमा रहेकाहरु नै राजिनामा दिएर वैदेशिक रोजगारीमा जाने यो क्रमलाई रोक्न समयानुकूल बन्दोबस्त गर्नैपर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.