जल/वातावरण

जलवायु परिवर्तनबाट जोखिममा रहेका समुदाय बढी प्रभावित : मन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका असरबाट जोखिममा रहेका समुदाय नै बढी प्रभावित र प्रताडित भइरहेको उल्लेख गर्नुभएको छ ।

आइतबार ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वतयारीका सन्दर्भमा सरकारले आयोजना गरेको ‘सगरमाथा राष्ट्रिय संवाद’ आफ्नो उद्देश्यमा सफल भएको बताउँदै सो धारणा राख्ननुभएको हो ।

‘सगरमाथा राष्ट्रिय संवाद’को समापन समारोहमा उहाँले कार्यक्रममा उठेका विषयवस्तु र विधिका दृष्टिले संवाद महत्वपूर्ण भएको बताउँदै उक्त विषयवस्तुले आगामी दिनमा कसरी अघि बढ्ने सन्दर्भमा पनि दिशानिर्देश गर्ने उल्लेख गर्नुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो, “जलवायु परिवर्तनका असरसँग जुध्न यससम्बन्धी अनुकूलन र न्यूनीकरणका कार्यक्रमलाई हामीले अघि बढाउँदै आएका छौँ ।” हरित अर्थतन्त्र र समुद्रमा आधारित अर्थतन्त्रलाई नेपालका नदी प्रणालीले जोड्नुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्व तयारीका सन्दर्भमा आज राजधानीमा सो संवाद आयोजना गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले ‘सगरमाथा संवाद’मा लैजानुपर्ने महत्वपूर्ण विषयवस्तु उठेको बताउँदै नेपालले वातावरणका क्षेत्रमा सफलता प्राप्त गरेका उदाहरणीय कार्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले कार्यक्रममा उठेका जलवायु परिवर्तन तथा वातावरणका क्षेत्रमा गर्नुपर्ने क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विविध विषयका बारेमा जानकारी गराउँदै नेपालले प्रमाणमा आधारित जलवायु कूटनीतिलाई अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
परराष्ट्र मन्त्रालयका सहसचिव एवं सगरमाथा संवाद आयोजक समितिका सदस्य सचिव कुमारराज खरेलले राष्ट्रिय संवादमा समानान्तररूपमा चलेका विज्ञसम्मिलित चार सत्रमा उठेका विषयवस्तुलाई प्रतिवेदनका रूपमा तयार गरिने जानकारी गराउनुभयो । राष्ट्रिय संवादको उद्घाटन बिहान उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुभएको थियो ।

आगामी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुने ‘सगरमाथा संवाद’को मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.