राजनीति

१८ दिनभित्र एमसीसी पास नभए फिर्ता

सम्झौतामा कुनै परिवर्तन नगरी फेब्रुअरी २८ भित्र पास हुनैपर्ने फतिमाको चेतावनी

नेपालमाा राजनीतिक ध्रुवीकरण भएको, राष्ट्रघाती र राष्ट्रवदीको कित्ताकाट गरिएको अति विवादित बनेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले अबको २० दिन अर्थात् फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने सन्देश दिएको छ।

यो मितिसम्म एमसीसी संसदबाट पास गर्ने लिखित सम्झौता प्रधानमन्त्री शेरबहादु देउवा र सत्ता गठबन्धनका शक्तिशाली नेता माओवादी अध्यक्ष प्रचण्डले गरेको स्मरण गर्दै एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले नेपालमा एमसीसी कार्यान्वयन लागि आगामी तीन हप्ता निकै महत्वपूर्ण रहेको र सो अवधिमा पास नभए फिर्ता जाने बताउनुभएको हो ।

बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै सुमारले फेब्रअरी अन्तिमको समय सीमा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैं तोकेको हुनाले फेरि समय थप्न नसकिने स्पष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो ‘फेब्रुअरी २८ को समय सीमा एमसीसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई होइन, पास गर्नलाई हो । हरेक समय सीमा र सम्झौताको अर्थ हुन्छ । अब फेरि ढिला गर्न हामी अर्को बहाना स्वीकार्न सक्दैनौं र एमसिसी सम्झौतामा कुनै परिवर्तन पनि हुँदैन ।’

उपाध्यक्ष सुमारले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको प्रतिवद्धतापछि आफूहरूले डिसेम्बर २०२१ मै एमसीसी सम्झौता संसदबाट पारित हुने आशा गरेको भए पनि त्यो हुन नसकेकाले उनीहरूले नै मागेबमोजिम फेब्रुअरी २८ को समय सीमा तोकेको बताउनुभयो ।

उहाँले भन्नुभयो- “म कामना गर्छु, अर्को चोटी हामी कुराकानी गर्दा एमसीसी परियोजनाको कार्यान्वयनका बारेमा छलफल गरिरहेका हौं । यसका लागि एमसीसी के गर्ने भन्ने निर्णय नेपाल सरकारले अबको तीन हप्तामा गर्नैपर्छ।”

एमसीसीले तीनजना अमेरिकी राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनका पालामा नेपाललाई दिन ५०० मिलियन डलर ‘होल्ड’ गरेर राखेको बताउँदै ‘यति पैसा होल्ड गरेर हामी अब अमेरिकी करदाताप्रति गैरजिम्मेवार हुन नसक्ने स्पष्ट पार्नुभयो ।’

त्यस्तै अन्तरक्रियामा बोल्दै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले संसारका अरू मुलुकहरू पनि अनुदान पाउनका लागि कुरिरहेकाले नेपालका लागि आफूहरूले थप समय दिन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “नेपालजस्तै अवस्थाबाट गुज्रिरहेका अन्य मुलुक यो सम्झौता गर्न आतुर छन् । उनीहरूलाई हामीले कुराइरहेका छौं । अब धेरै समय हामी उनीहरूलाई कुराउन सक्दैनौं ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.