बिचार

‘कलुवापुरको त्यो मण्डप जहाँ जात हार्‍यो मानवताले जित्यो’

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरका चेतराम सार्कीको आँगनमा हालै जे देखियो, त्यो कुनै चलचित्रको दृश्य थिएन, न त कुनै दन्त्यकथा नै । त्यो त महाकवि लक्ष्मीप्रसाद देवकोटाले दशकौँअघि कोरेको ‘मुनामदन’ का ती अमर पंक्तिहरू चरितार्थ भइरहेका थिए “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।”

हुन त देवकोटाले यी पङ्क्तिहरू भोटको तातो र रातो माटोमा मदनको मुखबाट बोलाएका थिए तर यसको वास्तविक प्रतिध्वनि भने यतिबेला कञ्चनपुरको कलुवापुरमा सुनियो ।

जब बैतडीको पाटन नगरपालिका–८ खोडपे जसुलिखालीका प्रसिद्ध ज्योतिषाचार्य पण्डित गणेशदत्त पन्तले मुग्लानमा पसिना बगाएर फर्किएका चेतरामको नयाँ पक्की घरको मण्डपमा बसेर शङ्ख फुके, तब सदियौँदेखि जकडिएको जातीय विभेद्को एउटा विशाल पर्खाल गल्र्यामगुर्लुम ढल्यो ।

सार्कीले भारतका गल्लीहरूमा वर्षौँसम्म आफ्नो उमेर र ऊर्जा साटेर केही थान रुपैयाँ जम्मा गरे । त्यही रगत–पसिनाको कमाइले कलुवापुरमा एउटा सुन्दर घर ठडियो तर चेतरामको मनमा एउटा चिसो संशय थियो-के यो मेरो घरमा ‘भगवान्’ पस्लान् ? के कुनै ब्राह्मणले मेरो घरको आँगनमा बसेर वेदका ऋचाहरू वाचन गर्लान् ? तर, जब गृह प्रवेशको दिन आयो, दृश्य विल्कुलै फरक र लोभलाग्दो थियो ।

घरको आँगनमा सेलरोटी, पुरी र हलुवाको बास्ना मगमगाइरहेको थियो । घरको मूल कोठामा कलात्मक ढङ्गले मण्डप सजिएको थियो । मण्डपको अग्रस्थानमा भगवान गणेश र त्यसपछि सत्यनारायण भगवानको मूर्ति राखिएको थियो । मण्डपको बीचमा हवन कुण्ड र त्यसको वरिपरि पूजा सामग्री र फलफूलले भरिभराउ थियो ।

त्यहाँ कुनै सङ्कोच थिएन, न त कुनै आत्मग्लानीनै थियो, थियो त केबल भक्ति, श्रद्धा र सामाजिक सद्भावको एउटा उज्यालो तस्बिर । मण्डपको नजिक बसेर पण्डित पन्तले गम्भीर स्वरमा सत्यनारायणको कथा वाचन गरिरहँदा उपस्थित मानिसहरूका आँखा रसाएका थिए । पहिलो पटक नै ब्राम्हणले पूजा गरेको र मन्त्र उच्चारण गरेको त्यस क्षेत्रमा दलित समुदायले सुनेका र देखेका थिए ।

यो दृश्यले प्रष्ट पाथ्र्यो-अब सुदूरपश्चिमको माटोमा ‘जडता’ होइन, गतिशीलता’ को नयाँ बिरुवा उम्रेको छ । चेतरामले कहिल्यै सोचेका थिएनन ब्राम्हणले निम्तो स्वीकार गरेर घरमै आएर हिन्दू रितिरिवाज अनुसार प्राणप्रतिष्ठा गर्लान् र सत्यनारायाणको पूजा विधिअनुसार होला भनेर ।

समाजको डरले ब्राम्हण आउँदैनन् भन्ने उहाँको मनम चिसो रहेको थियो तर ब्राम्हण पन्तले सार्की परिवारको निम्तो स्वीकार गरी घरमै आएर मन्त्रोच्चारणसहित विधिअनुसार पूजा गरेपछि उहाँ खुसीले गद्गद् हुनुभयो ।

चेतरामले भन्नुभयो, “जातीय विभेदका सांङला चुडाल्दै पण्डित पन्तले हिन्दू धर्ममा जातीय विभेद् नरहेको कुरा मात्रै प्रष्टयाउनुभएन, धार्मिक ग्रन्थका बारेमा बेलिविस्तार समेत लगाउनुभयो । यसबाट पूरै परिवारसहित यस क्षेत्रमा बसोवास गर्ने ६० घर घुरी दलित परिवारले धर्म संस्कृतिबारे जान्ने मौका पायौं, सत्यनारायणका कथा बेलिविस्तार सुन्यौँ ।”

यो परिवर्तनको जगमा पण्डित पन्तको २७ वर्ष लामो सङ्घर्ष लुकेको छ । उहाँ केबल एक पुरोहित मात्र हुनुहुन्न, उहाँ त धार्मिक अन्धविश्वास विरुद्धका एक ‘कुशल सिपाही’ हुनुहुन्छ । अढाई दशकअघि जब उहाँले दलितका घर–दैलोमा छिरेर वैदिक कर्मकाण्ड सुरु गर्दा आफ्नै समुदायबाट ठूलो तिरस्कार भोग्नुपपर्यो ।

“मैले दलितको घरमा पूजा गर्न थालेपछि मेरा पुराना यजमानहरूले मलाई छोडे मलाई ‘जात फालेको’ भन्दै सामाजिक सञ्जालमा तुच्छ गाली गरियो ज्यान लिनेसम्मका कुरा गरे,“पन्तले विगतको तीतो अनुभव सुनाउँदै भन्नुभयो, “म विचलित भएको छैन, हिन्दू धर्ममा नाममा हुदै नभएको जातभातको कुराको आडम्बर थोपर्ने कार्यका विरुद्धको मेरो विद्रोह जारी रहन्छ, जबसम्म जातभातको छोइछिटो, छुवाछुतको सांङलो चुडालिदैन ।”

उहाँले एक हजार चार सय ९९ भन्दा बढी कर्मकाण्ड-सप्ताह, सत्यनारायण कथा, नवाह, शिवपुराण र रुद्राभिषेक-दलित बस्तीमा सम्पन्न गरिसक्नुभएको छ । एक हजार एक सय ११ जना शिल्पी समुदायलाई जनै धारण गराएर उहाँले प्रमाणित गरिदिनुभयो छ कि संस्कार र शास्त्र कसैको निजी पेवा होइन ।

कलुवापुरकै भारतको मुम्बैमा मृत्यु भएका संगम नेपालीको घरमै पुगेर पिपल पूजनको कार्य सम्पन्न गराउनुभएको छ । “दलित समुदायलाई पिपल छुन बर्जित गरिएको छ” उहाँले भन्नुभयो, “त्यसको सट्टामा बैंसको रुखलाई छुन लगाउने परम्परा छ त्यसलाई तोड्नकै लागि पिपल छुने कार्यक्रम गरेका छौँ ।”

समाजमा एउटा डरलाग्दो मिथक थियो-“दलितको घरमा पूजा गरे देउता रिसाउँछन्, अनिष्ट हुन्छ तर पण्डित पन्त यो मिथकलाई शास्त्रकै आधारमा चुनौती दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुनै शास्त्रमा दलितले पूजा गर्दा अनिष्ट हुन्छ भन्ने प्रमाण कसैले ल्याउँछ भने म स–परिवार देहत्याग गर्न तयार छु, हुँदै नभएको कुरालाई धर्म शास्त्रसँग जोड्नु न्यायसङ्गत हुँदैन ।”

उहाँको तर्क छ कि अथर्ववेद, जसलाई कतिपयले ‘दलितको वेद’ भन्दै उपेक्षा गर्छन्, वास्तवमा त्यही वेदले दिएको शिल्प र प्रविधिको ज्ञानले आज संसार चल्दैछ । “जुन वेदले हवाईजहाज र मोबाइल बनाउने ज्ञान दियो, त्यही ज्ञान बोक्ने शिल्पी (दलित) लाई अछूत मान्नु जत्तिको ठूलो पाप अरु केही हुँदैन”, उहाँ भन्नुहुन्छ ।

पण्डित पन्त भन्नुहुन्छ, “वैदिक धर्मले जातका आधारमा विभेद गर्दैन । वैदिक धर्मले “वसुधैव कुटुम्बकम्” अर्थात संसार नै एउटा परिवार हो भन्ने मूल सन्देश दिएको छ ।” कुसंस्कार र रुढीवादी परम्परालाई तिलाञ्जलि दिदै सबै जातजातिलाई समानताको अधिकार स्थापित गर्नु पर्नेमा उहाँ जोड दिनुहुन्छ ।

“समाजलाई विखण्डन गर्ने धार्मिक ग्रन्थको त्याग गर्नुपर्छ” उहाँ भन्नुहुन्छ, “त्यस्ता धर्म गन्थ्रहरुलाई समय सुहाउँदो रुपमा धर्मगुरुहरुले विद्धानहरुले संशोधन गर्न अवश्यक छ ।”

निवर्तमान नगर प्रमुख दिलबहादुर ऐरले चेतरामको घरमा प्रसाद ग्रहण गरेर टिका थाप्दै भन्नुभयो, “कानुन कार्यान्वयन गर्न प्रहरी वा प्रशासन मात्र आएर पुग्दैन, जबसम्म नागरिक र पुरोहित आफैँ सचेत हुँदैनन्, समाज परिवर्तनका लागि नागरिक स्वतःस्फूर्त अगाडि बढ्नुपर्छ, त्यसपछि मात्रै जातीय विभेद्को डोरी चुडालिन्छ ।”

ऐरले देश धर्मनिरपेक्ष भएकाले जात, वर्ग र सम्प्रदायका आधारमा विभेद गर्न नपाइने स्पष्ट पार्नुभयो । “जातीय विभेद् गर्नेहरूलाई दण्डित गर्न कानुन छ,” उहाँले भन्नुभयो, “विभेद् गर्नेहरूलाई कानुनी कारबाहीमा ल्याउनु सचेत नागरिकको कर्तव्य हो ।”

पण्डित पन्तको एउटा स्पष्ट योजना छ- नेपालका प्रत्येक हिन्दू घरमा वेद, शालिग्राम, गाईपालन र तुलसीको मठ हुनुपर्छ । उहाँ भन्नुहुन्छ, “हिन्दूत्व जोगाउन पहिला समाजबाट विभेद् हटाउनुपर्छ, हामीले मान्छेलाई मान्छेको रूपमा स्विकार्न सकेनौँ भने हामीले गर्ने पूजा र जपको कुनै अर्थ रहँदैन ।”

उहाँले मनुस्मृति र कतिपय पुराणहरूमा रहेका विभेद्कारी अंशहरूलाई समय सुहाउँदो परिमार्जन र संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै, दलित समुदायभित्रै रहेको ‘पानी–भान्सा नचल्ने’ आपसी विभेद्लाई पनि जरैदेखि उखेल्नुपर्ने उहाँको ठम्याइ छ ।

चेतरामको नयाँ घरको मण्डपबाट सुरु भएको यो यात्रा केबल एउटा जिल्ला वा प्रदेशमा सिमित रहनु हुँदैन अधिकारकर्मी ईश्वर सुनारले भन्नुभयो, “भगवान् मन्दिरको मूर्तिमा मात्र होइन, मान्छेको मन र सद्भावको मण्डपमा पनि बास गर्नुहुन्छ ।”

दलित अगुवा तथा अभियन्ता शिवी लुहार “धर्मग्रन्थले होइन, धर्मका ठेकेदारहरूले विभेद फैलाएको बताउनुहुन्छ । “हिन्दू धर्मका ग्रन्थहरू बेद, गीता, महाभारत, रामायणलगायतमा जातीय विभेद छैन” उहाँ भन्नुहुन्छ, “विभेद् सह्य छैन, यसको अन्त्य हुनैपर्छ ।”

निवर्तमान सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी जातीय विभेद अन्त्यका लागि राजनीतिक दल, राज्य संयन्त्र, धार्मिक अगुवा र नागरिक समाज सबै एकै ठाउँमा उभिनुपर्ने बताउनुहुन्छ ।

“राजनीतिक भाषणमा मात्र समानताको कुरा गरेर हुँदैन, व्यवहारमै लागू हुनुपर्छ,” उहाँले भन्नुभयो, “दलित समुदायका घरमा पूजा–पाठ, विवाह, सामाजिक संस्कारमा विभेदरहित सहभागिता हुन थालेका पछिल्ला प्रयासहरूले सकारात्मक संकेत दिएका छन, यस्ता पहललाई राज्यले संरक्षण र प्रोत्साहन गर्नु पर्छ ।”

कानुनमा के छ ?

नेपालको संविधान र प्रचलित कानुनले जातीय भेदभाव तथा छुवाछूतलाई गम्भीर सामाजिक अपराधका रूपमा परिभाषित गर्दै कडा सजाय र क्षतिपूर्तिको व्यवस्था गरेको उहाँले उल्लेख गर्नुभयो ।

नेपालको संविधानले पनि छुवाछुतको कार्यलाई निषेध गरी सम्मान पूर्वक बाच्न पाउने अधिकारको प्रत्याभूत गरेको छ । नेपालको संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूत गरेको छ भने संविधनको धारा १८ ले समानताको हक प्रदान गरेको छ ।

संविधानको धारा २४ मा छुवाछुत विरुद्धको हक, सोही धारा २४ (५)ले छुवाछुत तथा भेदभावजन्य कार्य गम्भीर जघन्य सामाजिक अपराध र कानुन बमोजिम दण्डनिय अपराधका रुपमा लिएको छ ।

जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८’ ले यस्तो कार्यमा संलग्न हुनेलाई कैद, जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउने स्पष्ट व्यवस्था गरेको छ । प्रचलित कानुनी व्यवस्थाअनुसार जातीय भेदभाव वा छुवाछूतको कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा रु एक हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो कसूर गरेमा निजलाई थप ५० प्रतिशत सजाय हुने ऐनमा उल्लेख छ । त्यसैगरी, अदालतले कसूरदार ठहरिएका व्यक्तिबाट पीडितलाई रु २५ हजारदेखि एक लाखसम्म क्षतिपूर्ति भराइदिने व्यवस्था गरेको छ । क्षतिपूर्तिका अतिरिक्त पीडितलाई कुनै हानी–नोक्सानी पुगेको भएमा उपचार खर्च वा थप मनासिब रकम समेत भराइने व्यवस्था छ ।

कानुनले सामाजिक बहिष्कार, सार्वजनिक सेवा वा समारोहमा बन्देज, पेशा वा व्यवसायमा रोक र धार्मिक कार्यबाट वञ्चित गर्ने जस्ता कार्यलाई भेद्भावका रूपमा परिभाषित गरेकाले यस्तो कार्य गर्न मद्दत गर्ने वा उक्साउने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था रहको अधिकारकर्मी सुनार बताउनुहुन्छ ।

जातीय भेदभाव वा छुवाछूत भएको अवस्थामा पीडितले घटना भएको मितिले ९० दिनभित्र नजिकैको प्रहरी कार्यालयमा उजुरी दिएमा प्रहरीले उजुरी दर्ता गर्न नमानेमा जिल्ला सरकारी वकिल कार्यालय वा राष्ट्रिय दलित आयोगमा उजुरी दिन सकिने र मुद्दा दर्ता भएको ९० दिनभित्र अदालतले फैसला गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।”

पीडितले न्याय प्राप्तिका लागि सम्बन्धित जिल्ला कानुनी सहायता समिति वा जिल्ला अदालतमा रहेका वैतनिक कानुन व्यवसायीमार्फत निःशुल्क कानुनी सहायता समेत प्राप्त गर्न सक्ने व्यवस्था रहेको उहाँ बताउनुहुन्छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.