राजनीति

"हाम्रो सञ्चारमाध्यमलाई हजुरभन्दा साह्रै सानो लाग्छ"- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यताको इतिहास र संस्कृति सिकाउनु जरुरी रहेको बताउँदै मुलुकको भाषा, संस्कृति र सत्कारलाई बिगार्न नहुनेमा जोड दिनुभएको छ । गृह मन्त्रालयमा मंगलबार ७० औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रजातन्त्र मूल समारोह समितिका संयोजकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले उहाँले एक दशकयता सञ्चारमाध्यमबाट समाचारमा छापिएको विषय कोट्याउँदै प्रधानमन्त्री ओलीले आफ्नो भाषाको मर्मलाई मार्न नहुने बताउँदै भन्नुभयो “हाम्रो सञ्चारमाध्यमलाई हजुरभन्दा साह्रै सानो लाग्छ, अङ्ग्रेजीमा कपी गरेर मिस्टररम्याडम भनेर बोलाउँदा राम्रो लाग्छ, कसैलाई तपाईं भन्नुपर्दा अपमान भएजस्तो लाग्छ ।”

त्यस्तो होइन हाम्रो भाषा बच्चाबच्चीलाई माया गरेर तँ भनिन्छ, हुर्किंदै गएपछि तिमी हुन्छ र अग्रज वा सहकर्मीलाई तपाईं भनिन्छ ।” तपाईं भन्ने आदरार्थी व्यवहार समाजबाटै हटाउने सङ्गठित प्रयास भएकामा प्रधानमन्त्रीले चिन्ता प्रकट गर्नुभयो ।

राष्ट्र एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेतृत्व गरेको प्रसङ्ग जोड्दै प्रधानामन्त्री ओलीले नेपाली जनताकै अथक प्रयासबाट राष्ट्र निर्माणको गौरवपूर्ण इतिहास रचिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ तत्कालीन समयमा कालु पाँडे काटिए, छोरा दामोदर पाँडे पनि काटिए, भीमसेन थापा रेटिएर मारिए, उनका बाबु अमरसिंह थापा अलपत्र भएर हराए, जनताका छोराहरुले रगत र पसिना बगाएर बनाएको देशको इतिहासलाई बिर्सनुहुन्न ।”

उहाँले इतिहास र पुर्खाको बलिदानलाई कर्मकाण्डी बनाउनु नहुने बताउँदै भन्नुभयो, “हामी विद्वान् र बहादुर पुर्खाका सन्तान हौँ, त्यसैले इतिहासप्रति गर्व गर्न सिकौँ ।” उहाँले प्रजातन्त्र दिवसमा हरेकको घरमा दीपावली होस् भन्ने कामनासमेत गर्नुभयो । पालिका, वडा, विद्यालय र सङ्घसंस्थाको तहमा समेत दिवस मनाउनुपर्ने उहाँको सुझाव थियो । दिवसहरु बढी सरकारी कार्यक्रम जस्तो देखिएकाले जनताका कार्यक्रमका रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

विसं २००७, २०४६, २०६२/६३ र वर्तमान संविधान नबुझी नेपाल नबुझिने तर्क गर्दै प्रधानमन्त्री ओलीले हाम्रा सन्ततिलाई त्यस्ता इतिहास बुझाउनु जरुरी रहेको औँल्याउनुभयो । सात साल भनेको साल मात्रै नभई समाज परिवर्तनको एउटा खास परिघटना भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसले हाम्रो समाजलाई एउटा अन्धकार युगबाट आधुनिक युगमा प्रवेश गरायो ।”
संस्कृतिलाई बिगार्न हुन्न

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.