जन सरोकार

सीपले सिर्जना गरेको रोजगार

सीप र क्षमता परिस्कृत गर्दै जाँदा पाल्पाका सुरज क्षेत्री यतिबेला काष्ठजन्य क्षेत्रमा राम्रो कामदारका रूपमा कहलिनुभएको छ । गाउँमा काठका काम गर्ने क्रममा यसबाट राम्रै कमाउने अभिलासा बोकेर उहाँले क्षमता बढाउन भक्तपुरमा पुगेर सीप सिक्नुभयो ।

सीप विकास र काममा निखार आउँदै गर्दा उहाँ यतिबेला सीपालु र दक्ष कामदारको रोजाइमा पर्नुहुन्छ । गुल्मीको चन्द्रकोट गाउँपालिका निवासी ३० वर्षीय क्षेत्री पहिला गाउँमामात्रै सीमित हुनुहुन्थ्यो भने अहिले जता पनि काम गर्ने अवसर पाउँदा उहाँ खुसी हुनुहुन्छ ।

काठ कुँदेर विभिन्न सामग्री तयार पार्ने उहाँको सीप र कला देख्ने जोकोही पनि दङ्ग पर्छन् । सात वर्षदेखि काठका सामग्री तयार पारेर जीविकोपार्जन उहाँ गर्नुहुन्छ । काठबाट बन्ने सबैजसो सामग्री ग्राहकले भनेअनुसार नै तयार पार्ने राम्रो सीप उहाँमा छ ।

अहिले उहाँ पाल्पाको रामपुर नगरपालिकामा रहेर तीन महिनादेखि काठको काम गर्दै आउनुभएको छ । यहाँ निर्माणाधीन लक्ष्मीनारायण धर्मशाला (गुठी)को भवन निर्माणमा काठको काम गर्न उहाँलाई पुरातात्विक विभागबाटै झिकाएर ल्याइएको हो । उहाँले अहिले यहीँ बसेर भवन निर्माणमा आवश्यकतानुसारको काठको बनावट तयार पार्ने गर्नुहुन्छ ।

क्षेत्री भन्नुहुन्छ, “काठका सबैजसो सामग्री कुँदेर तयार पार्ने गरेको छु, हातमा सीप भयो भने काम पाउन समस्या छैन, अहिले विभिन्न ठाउँबाट बोलाउने गर्नुहुन्छ, विशेषगरी सामान्य भवन निर्माणभन्दा पनि ऐतिहासिक धार्मिक क्षेत्र, सङ्ग्रहालय, सत्तल निर्माणको क्षेत्रमा काम गर्ने गरेको छु ।”

उहाँले यसअघि काठमाडौँस्थित गौरीघाटको सत्तल, विभिन्न दरबार, ऐतिहासिक, धार्मिक सम्पदाको पुनःनिर्माण क्षेत्रमा काम गर्नुभएको छ । काठका विभिन्न हस्तकला, सारङ्गीलगायत गाउँघरमा प्रयोगमा आउने डोको, नाम्लो, हलोका सबै सामग्रीमा उहाँको राम्रो सीप छ ।

पारिवारिक अवस्था नाजुक हुँदा एसएलसी उत्तीर्णपश्चात अध्ययन बीचमै छाडेर हस्तकलाका काममा उहाँ लाग्नुभएको हो । यस व्यवसायबाट उहाँले मासिक रु ४० हजारसम्म कमाइ गर्नुहुन्छ । “पहिला गाउँघरमा मात्रै घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्थे, अहिले सीपमा बढेपछि पुरातात्विक विभागअन्तर्गतका विभिन्न भवन निर्माणमा काठका काममा खटिएको छु, यसबाट परिवारको जीविका चलेकै छ, म सन्तुष्ट छु”, उहाँले भन्नुभयो ।

बाग्लुङका ३६ वर्षीय डुलबहादुर बोहोरा यसै कार्यमा संलग्न हुनुहुन्छ । गाउँको स्थानीय फर्निचर उद्योगमा काठका काम गर्ने बोहोरा यतिबेला सीप बढ्दै गएपछि नेपालका महत्वपूर्ण सम्पदा निर्माणको क्षेत्रमा काम गर्नुहुन्छ । उहाँ गत साउनदेखि रामपुरमै रहेर काठका सामग्री कुँदेर बनाउने गर्नुहुन्छ ।

काठका सामग्री तयार पार्ने बोहोरालाई यतिबेला यस काममा भ्याइनभ्याइ छ । “काठको काम गर्न थालेको पाँच वर्ष भयो, हातमा सीप भयो भने जताततैबाट काम आइरहन्छ, काम गर्दै जाँदा सीप पनि बढ्दै गयो, अहिले पुरातात्विक विभागसँग जोडिएपछि विभिन्न स्थानका सार्वजनिक तथा धार्मिक सम्पदाको क्षेत्रमा काठका काममा व्यस्त छु”, उहाँले भन्नुभयो ।

सुर्खेतका ३७ वर्षीय कृष्णबहादुर बुढा तीन महिनादेखि रामपुरमा मजदुरी गर्नुहुन्छ । १३ वर्ष भारतमा मजदुरी गर्नुभएका कृष्णबहादुरले तीन वर्षदेखि घर भवन निर्माणको क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्दै आउनुभएको छ ।

भारतमा आठ वर्ष मजदुरी गरेर स्वदेश फर्कनुभएका कैलालीका २८ वर्षीय भीम साउद पनि अहिले रोजीरोटीलाई रामपुरमा भवन निर्माणको क्षेत्रमा खटिनुभएको छ । परिवारको आर्थिक अवस्था नाजुक हुँदा ८ कक्षा सम्मको शिक्षा लिनुभएका साउदले भारतको मजदुरी छाडेर नेपालमै काम गर्ने मनसाय बोकेर यस क्षेत्रमा संलग्न हुनुहुन्छ ।

“भारतमा बगाएको पसिना र मेहेनत आफ्नै देशमा गरियो भने देश बन्छ, अर्काको गाउँ ठाउँमा दुःख पर्दा सहयोगी हात कोही हुँदैनन्, कमसेकम नेपालमै भए त एकले अर्काको सहयोग र साथ पाइँदोरहेछ”, उहाँले भन्नुभयो । हाल रामपुरको लक्ष्मीनारायण धर्मशाला निर्माण क्षेत्रमा पुरातात्विक विभागअन्तर्गत १४ जनाको समूह परिचालित छ । अहिले भवन तथा घर निर्माणको क्षेत्रमा युवा पिँढीको संलग्नता बढी देखिन्छ ।

हातमा सीप भएकाले यस क्षेत्रबाटै राम्रै कमाइ गरिरहेका छन् । न्यून आय भएका नागरिकको रोजीरोटीको माध्यम नै घर तथा भवन निर्माण बनेको छ । यसैबाट मजदुर वर्गको परिवारको जीविका चलेकै छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button