साहित्य

रायमाझीलाई ‘मणिराम अभिनव शिक्षा तथा समाजसेवा पुरस्कार’

लामो समयदेखि शिक्षा, समाजसेवा तथा साहित्यमा समर्पित रहँदै आउनुभएका भएका राजधानीको गोकर्णेश्वर नगरपालिका वडा नं ५ निवासी उद्धव रायमाझीलाई मणिराम अभिनव शिक्षा तथा समाजसेवा पुरस्कार प्रदान गरिएको छ ।

अभिनव साहित्य समाजले शनिबार आयोजना गरेकको कार्यक्रममा प्रतिनिधिसभा अन्र्तगत अर्थ समितिका सभापति सन्तोष चालिसेले रायमाझीलाई नगद रु. १० हजार सहित सम्मान गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चालिसेले राजधानीको पूर्वी क्षेत्रमा शिक्षा, समाजसेवा तथा साहित्यको श्रीवृद्धिका लागि रायमाझीले ठूलो योगदान दिनु भएको बताउनुभयो ।

बौद्धिक एवं सामाजिक व्यक्तिबाट मात्रै समाज परिवर्तन सम्भव भएकाले त्यस्ता व्यक्तिको सम्मान हुनुपर्ने चालिसेले बताउनुभयो ।

कार्यक्रमममा गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ९ का वडा अध्यक्ष क्रमश नारायणबहादुर सुवेदी र राजीव थापाले समुन्नत समाजको निर्माणमा रायमाझी जस्ता उदारहणीय व्यक्तिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

सम्मानित व्यक्तित्व रायमाझीले आगामी दिनमा शिक्षा, समाजसेवा तथा साहित्यमा थप समर्पित रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले पुरस्कार वापत प्राप्त रकममध्ये एक रुपैयाँ हार्दिकता सहित ग्रहण गरी रु. ९ हजार ९ सय ९९ रुपैयाँ आयोजक संस्थालाई नै हस्तान्तरण गर्नु भएको छ ।

चार दशकदेखि विभिन्न संघ संस्था मार्फत् सामाजिक क्षेत्रमा क्रियाशील रायमाझी भैरव पुरस्कार गुठी, साहित्य सदन, रमेश विकल साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाज, सुरभि साहित्य प्रतिष्ठान लगायतका साहित्यिक संघ संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।

समारोहमा अभिनव साहित्य समाजका संस्थापक अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, उपाध्यक्ष विमल अर्याल लगायतले समाजका विविध गतिविधिबारे जानकारी गराउनुभएको थियो भने वरिष्ठ साहित्यकार रामबाबु पहारी, वरिष्ठ गीतकार आनन्द अधिकारी लगायतका स्रष्टाहरूले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.