मेलम्चीको श्वेतपत्र- पानी काठमाडौं झर्ने अर्को तारिख असार मसान्त
दुई दशकभन्दा लामो समयदेखि निर्माण थालिएको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं झर्ने दर्जनौं तारिख पूरा नभैरहेका बेला अब असार मसान्त भित्र काठमाडौंमा पानी आउने दावी खानेपानी मन्त्रालयले गरेको छ । विहीवार श्वेत पत्र जारी गर्दै आयोजनाको कामम ९५.१२ प्रतिशत सम्पन्न भएकाले असार मसान्तमा पानी झर्ने दावी गरेको हो ।
श्वेतपत्र जारी गर्दै खानेपानी मन्त्री बिना मगरले निर्माण कार्य तीव्र गतीमा अगाडि बढेकोले सरकारले भनेको समयमै काम सम्पन्न हुने जानकारी दिनुभयो । विगतमा सरकारले बाचा गरे अनुसार काम गर्न नसकेको स्मरण गराउदैं अब तोकेकै समयमा काठमाडौंमा पानी आउने बताउनुभयो ।
त्यसै गरी खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निर्माणको काममा अनुगमन राम्रो सँग भएको जानकारी दिंदै विगतका कमी कमजोरी पाठ सिकेर मन्त्रालयले काम गरेको जानकारी दिनुभयो । सचिव बेल्बासेले कुनै दैविक प्रकोप नआए असार समान्तभित्र पानी काठमाडौंमा आउने स्पष्ट पार्नुभयो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई। तिरेशप्रसाद खत्रीले निर्माण कम्पनीहरुलाई सम्झौता अघि काम गर्न गरी काम अगाडि बढाएको बताउनुभयो । कार्यकारी निर्देशक खत्रीले आयोजनाको हालसम्म २७ अर्ब ९४ करोड खर्च भइसकेको जानकारी दिनुभयो ।
याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री लार्के आयोजना कार्यान्वयन गर्ने सिलसिलामा पाँचपोखरी थाङपाल गाउँपालिकासँग सम्झौता सम्पन्न भएको छ । पहिलो चरणमा १७ करोड लिटर पानी ल्याउने काम करीब सम्पन्न हुने दौरानमा रहेको छ ।
दोस्रो चरणअन्तर्गत ३४ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउँदा प्रभावित हुने स्थान र जनताले के–के सुविधा पाउने भन्ने विषयमा केही विवाद कायम थियो । अब त्यो विवाद अन्त्य भएपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भएको छ ।
दुवै नदीबाट पानी पठाएवापत प्रभावित जनताले पाउने सुविधाका सम्बन्धमा गाउँपालिका र सरोकार समितिकातर्फबाट नौ वटा माग प्रस्तुत गरिएको र ती माग पूरा गर्न समितिले सहमति जनाएपछि यो अवस्था सिर्जना भएको छ । आयोजना कार्यान्वयन गर्दा स्थानीय सरकार तथा समुदायमा विश्वासको वातावरण सिर्जना हुने र आयोजना समयमै सम्पन्न हुने आधारशिला तय हुने उदेश्यले मेलम्ची खानेपानी विकास समितिका तर्फबाट समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र गाउँपालिका अध्यक्ष टासी लामाबीच सोही क्षेत्रका सांसद शेरबहादुर तामाङ र सामाजिक विकासविज्ञ शम्भुप्रसाद कट्टेलको रोहबरमा सो सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
याङ्ग्री लार्के सरोकार समिति, गाउँपालिका र समितिबीच पटक–पटक भएको छलफलपश्चात यो सम्झौता भएपछि अब दोस्रो चरणको कामले गति लिने र समयमै आयोजना सम्पन्न हुनेमा सम्बद्ध पक्ष ढुक्क देखिएको छ ।