राजनीति

जनयुद्धको रजत जयन्ती- माओवादी कहाँ, योद्धाहरु कता ? (भिडियोसहित)

नेपालको राजनीतिक व्यवस्थामा अकल्पनीय परिवर्तनको सम्वाहक विद्रोहका रुपमा १० वर्षे सशस्त्र जनयुद्धलाई लिइन्छ । २०५२ साल फागुन १ गतेबाट नेकपा माओवादीले सुरु गरेको सशस्त्र बिद्रोहका बेला गरीब, निमुखा, पिछडिएका वर्गहरुमा राजनीतिक चेतना फैलियो, राजनीतिक अधिकार प्राप्तिमा उनीहरु हतियार उठाउन जंगल पसे ।

यही विद्रोहको जगमा टेकेर मुलुकमा गणतन्त्रको आधार तयार भयो । तर जनयुद्धले सफलता हैन विसर्जनको बाटो लिया । तत्कालीन सात दलसंग भारतको राजधानी नयाँ दिल्लीमा गरिएको १२ बुँदे सम्झौतापछि मुलुकमा शान्तिपूर्ण आन्दोलनबाट गणतन्त्र आयो । जनयुद्ध सुरु भएको आज २५ वर्ष पूरा भएको छ ।

जनयुद्धमा लागेको गणतन्त्र, धर्मनिरपेक्षताको नारा सात दल र माओवादीको सम्झौतापछि भएको १९ दिने जनआन्दोलनमा लागेको थिएन, सम्झौतामा पनि त्यस्तो कुरा थिएन, तर एकाएक सबै आयो । यी सबैका लागि माओवादीको जनयुद्ध नै कारण हो । मुलुकमा परम्परागत शासनपद्धतिको अन्त्यमा माओवादी प्रमुख शक्ति थियो ।

नेपालको राजनीतिमा व्यवस्था परिवर्तनको यो अभूतपूर्व क्षण शान्तिपूर्ण रह्यो, तर त्यसपछिका समय भने निकै हिंसात्मक भए । माओवादी जनयुद्धकै कारण विद्रोहले शक्ति पाइन्छ भन्ने सिकायो । संविधानसभाले संविधान बनायो, मुलुक संघीयतामा गयो, नयाँ संविधान कार्यान्वयनमा आयो । तर पनि असन्तुष्टिका लहरहरु कायमै छन् ।

त्यसो त जनयुद्ध सुरु गरेको नेकपा माओवादीको मुख्य नेतृत्व तितरबितर छन् भने आधिकारिक माओवादी एमालेमा विलय भएर नेकपा बनेको छ । अहिले नेकपा विभाजित भएर दुई समूह छ । जनयुद्धमा क्रममा देखाइएका आश, दिइएको आश्वासन अहिले नेताहरुका लागि मात्र प्रयोगमा आएका छन् । लडाकुहरुको अवस्था नाजुक छ । युद्ध पीडितहरुले अझै न्याय पाउन सकेका छैनन् । माओवादी जनयुद्धको जिम्मा लिने राजनीतिक शक्ति नै छैन । व्यक्तिहरु आआफ्नै समूहमा लतारिएका छन् ।

तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको थियो । यो विद्रोह १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण रुपान्तरण भएको थियो । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर भएर शान्ति प्रक्रियामा आएपछि माओवादी पटक–पटक फुटे्यो भने २०७४ सालमा आएर एमालेसंग एकीकृत भयो । त्यसपछि मुलुकमा झण्डै दुई तिहाई बहुमको सरकार बन्यो तर तीन वर्षमै संसद विघटन भयो । पूर्व माओवादी र पूर्व एमालेको एक खेमा एकातिर र पूर्व एमाले नेतृत्वको अर्को खेमा बनेर अहिले शहरमा रमिता देखाइरहेका छन्

जनयुद्धको १० वर्षमा १७ हजार नागरिकको ज्यान गयो, हजारौंहजार अंगभंग भए, कैयौं वेपत्ता छन् । तर, जनयुद्धको औचित्य पुष्टि गर्ने काम माओवादीकै सरकार तीनपटक बने पनि पूरा हुन सकेन । अहिले त माओवादी भन्ने आधिकारिक दल नै छैन ।

माओवादी जनयुद्धले जनतामा आशा जगाएको थियो भन्न कसैले हिच्किचाउनु पर्दैन । तर, जनयुद्धको अवसानपछिको अवस्था र माओवादी नेताहरुको रबैयाका विषयमा पनि देखेको बोल्न हच्किनुपर्ने अवस्था छैन । माओवादीले युद्धताका जे आशा जगाएको थियो, जस्तो आश्वासन दिलाएको थियो– त्यो आज कति पूरा भयो र माओवादी नेताहरुले भने जस्तै त्यो महान जनयुद्धको बाटोमा हिंडेका नेताहरु अहिले कुन बाटोमा हिंडिरहेका छन् ? अहिले यस्तै प्रश्नले युद्ध लडेका नेताहरुलाई घोच्ने गरिन्छ ।

२०५१ को फागुनमा गोरखामा तत्कालीन नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले २०५२ फागुन १ गतेदेखि सशस्त्र जनयुद्धको घोषणा गरेपछि मुलुकमा १० वर्षसम्म यसले निरन्तरता पायो । आजको अवस्थासम्म आइपुग्दा जनयुद्धका नायकहरुले यसको जति बखान गरे पनि जनताले भने प्रश्नमात्रै उठाउने गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.