जन सरोकार

१२ वर्षीया बालिका पटकपटक बलात्कृत

डडेल्धुराको आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका आफन्त र गाउँकै एक युवाबाट पटकपटक बलात्कृत हुनुपरेको घटना बाहिरिएको छ ।

उपचारका लागि अस्पताल पुगेकी बालिका बलात्कारको सिकार भएको घट्ना खुलेको प्रहरीले जनाएको छ । उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएको आशङ्का गरेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिरिएको हो ।

बालिका आइतबार उपचारका लागि आफन्तसहित पर्शुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी थिइन् । प्रहरीले अनुसन्धान गर्दा बालिका पटकपटक बलात्कारको सिकार भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले बताउनुभयो ।

गत वर्ष भदौमा काका नातापर्नेबाट बलात्कृत भएकी बालिका फेरि गएको माघ ६ गते एक स्थानीय युवकबाट पनि बलात्कारमा परेको उनको बयानबाट खुल्न आएको हो ।

पीडित बालिकाले डर, धम्कीका कारण घटनाबारेमा कसैलाई पनि नभनेको प्रहरीको भनाइ छ । अहिले बालिकालाई आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ ।

पीडित पक्षको जाहेरीका आधारमा बलात्कार गरेको आरोपमा आलितालका २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी वरिष्ठ नायब निरीक्षक करवीरसिंह ऐरले बताउनुभयो ।

बालिका वृद्ध हजुरबुवा र हजुरआमासँंग बस्दै आएकी छिन् । ती बालिकाका काका नाता पर्ने व्यक्ति भने अहिले भारतमा छन् । बलात्कारको घटना ढाकछोप गर्न उनी भारत गएको हुनसक्ने प्रहरीको आशङ्का छ । बालिकाका आमाबाबु कामका सिलसिलामा भारतमा रहेका बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.