भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा जिम्बाबेले अस्ट्रेलियालाई पराजित गरेको छ । शुक्रबार भएको पहिलो खेलमा जिम्बाबेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको हो ।
आर प्रेमादासा रंगशाला, कोलम्बोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बबेले निर्धारित २० ओभरमा दुई विकेट मात्र गुमाउँदै १ सय ६९ रन बनाएको थियो । जिम्बाबेको लागि ओपनर ब्रायन बेनेटले ५६ बलमा सात चौकको मद्दतमा अविजित रहँदै ६४ रन बनाए भने तादिवानाशे मारुमानी र रायन बर्लले समान ३५-३५ रन जोडे । यस्तै कप्तान सिकन्दर राजाले अविजित रहँदै २५ रन बनाए ।
अस्ट्रेलियाको लागि मार्कस स्टोइनिस र क्यामरुन ग्रीनले समान एक-एक विकेट लिए । जिम्बाबेले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४६ रनमा समेटियो । अस्ट्रेलियाका म्याट रेनशले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिर दिलाउन सकेनन् ।
यस्तै ग्लेन म्याक्सवेलले ३१ र ट्राभिस हेडले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक रन जोड्न सकेनन् । जिम्बाबेको लागि ब्लेसिङ मुजराबानीले चार विकेट लिए भने ब्राड इभान्सले तीन विकेट लिंदा र वेलिङटन मासाकाद्जा तथा रायन बर्ललको भागमा समान एक-एक विकेट रह्यो ।
जितसँगै जिम्बाबे दुई खेलमा चार अंक जोड्दै समूह बी को दोस्रो स्थानमा छ भने समान खेलमा दुई अंक जोडेको अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ । यस्तै समूहका आयरल्यान्ड र ओमानले भने दुवै खेलमा पराजय व्यहोरेका छन् ।





प्रतिक्रिया राख्नुहोस्