जन सरोकार

वुहानमा रहेका नेपाली लिएर फर्कनेछ एयरबस आइतबार विहान

सरकारले आगामी शनिबार चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज पठाउँदैछ । निगमको वाइडबडी जहाज फागुन ३ गते शनिबार अपरान्ह २ः४५ बजे चीन उड्ने र फागुन ४ गते बिहान २ः१५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । निगमका प्रवक्ता अर्चना खड्काले बजारमा हल्ला छाएजस्तो निगमका पाइलट चीन जान मानेनन् भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै जहाजका सबै कर्मचारी इमान्दारीपूर्वक सेवामा खटिने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सरकारले गरेको निर्णयमा राष्ट्रसेवक कर्मचारीले पनि इमान्दारितापूर्वक भूमिका निर्वाह गर्नुपर्ने दायित्व भएको उल्लेख गर्नुभयो । बुहान जाने टोलीमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने जनाइएको छ ।

हुवेई प्रान्तको विभिन्न शहरमा रहेका नेपाली विद्यार्थीलाई वुहानमा भेला गरिनेछ । चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनेछ । त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् ।

चीनको हुवेइ प्रान्तको वुहानलगायत शहरबाट १८० नेपालीले स्वदेश फर्कन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । चीनको वुहान प्रान्तमा सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक कोरोना भाइरस पत्ता लागेको थियो । अहिले चीनको २२ प्रान्त तथा विश्वका २३ मुलुकमा कोरोना भाइरस फैलिसकेको बताइन्छ ।

चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.