युवायुवती प्रणयमा रम्दा नेताहरु भने बिछोडको यात्रामा
आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ । पश्चिमा संसारबाट सुरु भएको यो दिनलाई दिवसका रुपमा मनाउने चलन नेपालमा भित्रिएको छ । भ्यालेन्टाइन माया, प्रेम अनि निरंकुशताबिरुद्ध नागरिक स्वतन्त्रताको विद्रोह हो । चोखो प्रेम र पवित्र प्रणय बन्धनलाई ईश्वरीय कर्म ठान्ने एक पादरीको त्याग नै भ्यालेन्टाइन दिवसको सार हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयको घोषणा बिरुद्ध विद्रोह गर्दै पादरीले गरेको त्याग नै भ्यालेन्टाइन दिवसको महत्वपूर्ण पक्ष हो । प्रेम र विवाहलाई प्रतिबन्ध लगाइएको सम्राटको राजाज्ञा थियो ।

उनले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर पादरी भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यता राख्थे । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे ।
राजाको निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई पू २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो ।
यो सन्दर्भले भ्यालेन्टाइनको अर्थ विद्रोह हो, नागरिक स्वतन्त्रता हो र यो एउटा राजनीतिक मुद्दा पनि थियो । नेपालमा हरेक कुरा राजनीतिसंग जोडेर हेर्ने गरिन्छ । यसको कारण भने राजनीतिले नै सबै कुरा निर्धारण गर्छ भनेर नै होला । अहिले नेपालमा क्रान्तिकारीहरु विछोडको यात्रामा छन् । संसद विघटन भएपछि झण्डै दुई तिहाई बहुमत हाँसिल गरेको नेकपा दुई समूहमा विभक्त भएर एकले अर्कोलाई सकुन्जेलको घृणा व्यक्त गरिरहेको छ ।
हरेक सन्दर्भ र प्रचलनको बहुविध अर्थ हुन्छ । त्यस्तै भ्यालेन्टाइन दिवसको पनि त्यस्तै अनेक अर्थका रुपमा बुझ्न सकिन्छ । जसरी एउटा दम्पत्तिको आत्मियताले परिवार सुखी र खुसी हुन्छ त्यस्तै दलका नेताहरुबीचको आत्मियताले मुलुक र मुलुकबासी खुसी र सुखी हुन्छन् । मुलुकमा शान्ति खलबलिएको छ, आत्मीयता हराउँदै गएको छ । मानवीय सम्वेदनशील पक्ष गुम्दै गएको छ । यस्तोमा प्रणय अर्थात् नजिकको र आत्मिय सम्बन्धको खोजी हुनु, त्यस्तो सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रयास गर्नु आफैंमा सुखद् सन्दर्भ हो । तर यो सम्बन्ध युवा–युवतीको विपरीत लिंगप्रतिको आकर्षणमा मात्र सीमित पारिदा भने यसको महत्व र मर्म खल्लो भएको छ ।
यो सम्बन्ध समग्र मानव जातिकाबीच कायम भैदिए विश्वमा शान्ति नै शान्ति छाउने थियो । किनभने आत्मियता सवैलाई चाहिएको छ, सवै–सवैका बीच सुमधुर आत्मिय सम्बन्धले नै विश्वमा शान्ति कायम गर्नेछ, मानव अधिकारको रक्षा हुनेछ ।
‘भ्यालेन्टाइन डे’लाई प्रणय दिवस पनि भनिन्छ । प्रणय भनेको युवायुवतीको शारीरिक सुख मात्र होइन, प्रणय भनेको हरेक क्षेत्रमा आपसी मित्रता र सद्भाव तथा सद्व्यवहार र त्याग पनि हो । जसरी पादरी भ्यालेन्टाइनले आफ्नो प्राण त्यागेर पनि जनअधिकार स्थापित गरे । खै त्यो त्याग ? अहिले त त्यागको नाममा विहान बेलुका मल–मुत्रबाहेक केही गर्न नसकिएको अवस्था छ ।
नेपालमा अहिले हरेक पक्षबीच आत्मिय सम्बन्धका खाँचो छ । प्रणयलाई मुलुकको समग्र संरचनामा मिलाउनु आवश्यक छ । मुलुकको समग्र क्षेत्रमा आत्मियपन चाहिएको छ । नेपालको वर्तमान राजनीतिमा यस्तै आत्मियताको खाँचो छ । आत्मीयताको अभावमा मुलुक निकास विहीन बन्दै असफलताको दलदलमा भास्सिदो छ । जिम्मेवार भनिएका राजनीतिक दलहरुबीच चलिरहेको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य भएर विकसित भएको आत्मिय सम्बन्धले नेपाली जनताले शान्ति पूर्वक भयरहित वातावरणमा बाँच्ने आधार दिनेछ र नेपाली जनतालाई एउटा सुनौलो उपहार पनि हुने छ र यतिबेला मुलुकभरि नै ‘भ्यालेन्टाइन’ हुन्थ्यो ।
मुलुकको अवस्था दिन प्रतिदिन कमजोर बन्दै छ, राष्ट्रियता खतरामा परेको छ । जिम्मेवार दलका नेताहरुबीच आपसमा बाझाबाझको स्थिति मात्र छ । लोकतन्त्र प्राप्तिपछि मुलुकमा जुन किसिमको राजनीतिक स्थिरता र शान्ति सुव्यवस्था तथा राहतको अपेक्षा जनताले गरेका थिए त्यसमा आहत मात्र थपिएको छ । राजनीतिक दलका नेताहरुले जिम्मेवार भएर आफ्नो भूमिका निर्वाह गरेको भए अहिलेसम्म नेपाली जनताले सुख–सन्तोषसंग बाँच्न पाउथे र त्यही नै सवभन्दा ठूलो ‘भ्यालेन्टाइन’ हुन्थ्यो ।
मानव–मानवबीच आत्मियता नरहँदा विध्वंस मच्चिएका छन् । नेपालमा लोकतन्त्र हुँदै गणतन्त्र प्राप्तिपछि नेपाली–नेपालीबीचको सौहार्दता र सहिष्णुता हट्दै गएको छ । नेपालको भौगोलिक मानचित्र नै बदल्ने हुँकारहरु गरिएका छन् । यी सव आत्मिय सम्बन्धको अभावले गर्दा भैरहेको हो । मानव–मानवबीच हुनुपर्ने आत्मिय सम्बन्धले मात्रै विश्वमा शान्ति, स्थिरता र मानव अधिकार स्थापित गर्न मद्दत पुग्ने भए पनि अहिले त शक्ति हुनेले जे गरे पनि हुने परिस्थिति सिर्जना भएको छ । बलियाका अगाडि गरिब, निमुखा र निर्धाहरुले लम्पसार परेर मृत्युतुल्य जीवन बाँच्नुको अर्को विकल्प देखेका छैनन् । अहिलेको सर्वाधिक विडम्वनापूर्ण परिस्थिति नै यही हो ।
मानवीय गुण पूर्णरुपमा स्खलित भएर मरुभूमिमा परिणत भैसकेको छ । तर पनि आत्मियता र प्रणयको नाममा युवा युवतीको प्रेमालाप र ‘रोमान्स’लाई उचाल्ने प्रयास भैरहेका छन् । विश्व शान्तिका लागि चाल्नुपर्ने कदमहरुप्रति कसैको ध्यान छैन । मुलुक हाँक्ने युवा पुस्तालाई यसै गरी भ्रमित पारेर आफ्नो हैकम चलाइरहने दाउपेच मात्र चलिरहेको छ ।
‘भ्यालेन्टाइन डे’का सन्दर्भमा भएको प्रचारवाजी पनि युवा पुस्तालाई दिग्भ्रमित पार्ने एउटा चाल मात्र हो । होइन भने आत्मियताको अर्थ, परिभाषा र यसको व्यापकतालाई किन यति हल्का रुपमा लिइन्थ्यो होला र ?
अहिले राजनीतिक क्षेत्रमा देखिएका जति पनि विकृति, विसंगती र आरोप प्रत्यारोप तथा असमझदारी छन् यी सवलाई चिर्नु पहिलो कर्तव्य हो । ‘भ्यालेन्टाइन’ प्रेमी–प्रेमिकाको दिवस भनिए पनि यो सम्बन्ध सुमधुर बनाउने दिवस हो र यो सम्बन्ध युवा र युवतीबीचको मात्र होइन समाजमा सक्रिय हरेक पक्षमा हुनुपर्छ । राजनीतिक दलहरुबीच, सामाजिक कार्यकर्ताहरुबीच, कर्मचारीतन्त्रबीच, प्रहरी, सेना, शिक्षक, विद्यार्थी, मजदुर, कुल्ली, कानुन व्यवसायी सवका सवबीच आत्मिय सम्बन्ध हुनुपर्छ ।
यसले मात्र मुलुकलाई उन्नतिको मार्गमा डोर्याउछ । सवैको उद्देश्य नयाँ नेपाल बनाउने हो भन्न पनि नछाड्ने र एकले अर्कोलाई छिर्के हान्न पनि नछोड्ने प्रवृत्तिको अन्त्य भई सवैबीच आत्मीय सम्बन्ध कायम हुनु नै ‘भ्यालेन्टाइन’ हो । राजनीतिक नेतृत्वमा आपसमा आत्मिय सम्बन्ध कायम गर्ने मति फिर्यो भने मुलुकले सधैं ‘भ्यालेन्टाइन’ मनाउन पाउनेछ । आजको खाँचो पनि यही हो ।
युवा–युवतीको प्रणय लीला मात्र ‘भ्यालेन्टाइन’ होइन भन्ने बुझेर आपसी सम्बन्ध सुमधुर बनाउँदै काँधमा काँध मिलाएर अघि बढ्ने प्रेरणा त्यागी पुरुषहरुको सम्झनामा मनाइने यस्ता दिवसहरुले सवैलाई दियो भने त्यो मुलुकका लागि सर्वाधिक सुखद् क्षण हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्