संस्कृति

वसन्त पञ्चमीलाई सकारात्मकता भर्ने तिथिका रुपमा मनाऔँ : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले वसन्त श्रवण र सरस्वती पूजाले सिङ्गो मानव जीवनमा सधैँ ऊर्जाशील र नयाँ खोज गर्न प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस दिनले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाइ देशलाई समृद्धितर्फ उन्मुख गराउन सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भन्नुभएको छ ।

उपराष्ट्रपति यादवले सन्देशमा देशमा सामाजिक तथा धार्मिक एकता एवं सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्दै मुलुकलाई एकताको सूत्रमा बाँध्दै लगेको उल्लेख गर्नुभएको छ ।

वसन्त पञ्चमीलाई सबै पुण्य कार्यका लागि शुभ मानिने जनाउँदै उहाँले यस शुभ अवसरलाई सबैले आ–आफ्नो नकारात्मक सोच र मानसिकता परित्याग गर्दै आफूभित्र सकारात्मकता भर्ने महत्वपूर्ण तिथिका रुपमा मनाउन सक्नुपर्ने बताउनुभएको छ ।

“यो वसन्त ऋतुको आगमन हुने दिन पनि भएकाले आफ्नो जीवनमा सदाचार र मेलमिलापको गुण आत्मसात् गर्न सक्नु पर्दछ”, उपराष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ ।

वसन्त पञ्चमी हिन्दू, बौद्ध र मुस्लिम धर्मावलम्बीको त्रिवेणी उत्सवरुपमा पाइएको उल्लेख गर्दै उहाँले आपसी द्वन्द्व, द्वेष, राग, वैमनस्यता र उच्छृङ्खलता बिर्सेर परस्पर खुसी साटासाट गर्न वसन्त पञ्चमीले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.