वरिष्ठ साहित्यकार ताना शर्माको निधन
वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । ताना शर्माका नामबाट लोकप्रिय उहाँको आज मस्तिष्काघातबाट निधन भएको हो ।

विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मनुभएका उहाँ ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नुभएको छ ।
डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गर्नुभएको थियो ।
उहाँ पाठ्यपुस्तक लेखक पनि हुनुहुन्थ्यो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । शर्माको अन्त्येष्टि आज मध्यान्ह पशुपति आर्यघाटमा गरिने जनाइएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाा. शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले ट्वीट गर्दै भन्नुभएको छ प्रतिष्ठित साहित्यकार, नेपाली साहित्यमा नियात्रा निवन्ध विधाका संस्थापक, नेपाली भाषामा झर्रोवादी आन्दोलनका अगुवा डा तारानाथ शर्माको निधनको खबरले मलाई दुःखी तुल्याएको छ। दिवंगत साहित्यकार शर्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
प्रतिक्रिया राख्नुहोस्