जन सरोकार

गोकर्णेश्वरका सबै वडाको आफ्नै भवन, श्रीपञ्चमीका दिन वडा न. ९ को भवन शिलान्यास

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको नौवटै वडाको आफ्नै भवन हुने भएको छ भने नगरपालिकाको पनि बहुउद्देश्यीय भवन निर्माणको क्रममा रहेको छ । सबै वडाको आफ्नै भवन निर्माणका क्रममा श्रीपञ्चमीका दिन वडा नं. ९ को कार्यालय भवन शिलान्यास गरिएको छ ।

वडा अध्यक्ष राजिव थापाको सभापतित्व तथा नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा प्रमुख चालिसेले स्थानीय तहले जनप्रतिनिधि पाएसंगै सबै वडाको आफ्नै भवन तीन वर्षभित्रमा निर्माण गरिसक्ने लक्ष्य अनुसार ६ वटा वडाको बनिसकेको र ६, ८ ९ को भवन निर्माणको क्रममा रहेको जानकारी दिनुभयो ।

प्रमुख चालिसेले केही दिनभित्र जोरपाटी चोकमा नगरपालिकाको केन्द्रीय भवन निर्माण सुरु हुने जानकारी दिंदै वडा नं. ९ को भवन आगामी ६ महिनाभित्र भवन निर्माण सम्पन्न गर्न निर्माण ठेक्का पाएका कम्पनीलाई अनुरोध गर्नुभयो ।

नगर उपप्रमुख शान्ति नेपालले नगरपालिकाहरुले गरेको विकास निर्माणको कामको मूल्यांकन स्थानीयबासीले नै गर्नुपर्ने सुझाव दिंदै हरेक आयोजनाहरुको पहिलो लाभ स्थानीयबासीका लागि भएको हुँदा उनीहरुले नै गुणस्तर र समयमै काम सम्पन्न गर्ने वातावरण बनाउन सुझाव दिनुभयो ।

त्यसै गरी नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले वडा नं. ९ को भवन निर्धारित स्थानमा बन्नुको कारणबारे प्रकाश पार्दै विविध कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुँदा ढिलाई भएको जानकारी दिनुभयो । उहाँले वडा कार्यालय भवन निर्माण र संचालनपछि यो क्षेत्रको आर्थिक गतिविधि पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति तथा वडा नं. ९ का अध्यक्ष राजिव थापाले भवन निर्माणका विषयमा प्रकाश पार्दै यो भवन वडाका जनप्रतिनिधि वा कर्मचारीहरुको नभै स्थानीयबासीकै भएकाले निर्माणमा सहयोग गर्न र आवश्यक अनुगमन तथा निरीक्षणलाई प्राथमिमकता दिन अनुरोध गर्नुभयो ।

करीब एक करोड ५० लाखको लागतमा सो वडाको केन्द्रमा पर्ने आरुबारीस्थित गणेशमन्दिर परिसरमा निर्माण हुने भवनमा स्वास्थ्य चौकीदेखि अन्य सुविधाहरु उपलब्ध हुने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.