कर्पोरेट/पर्यटन

तीन वर्षमा पुरातात्विक महत्वका चार सय ८५ सम्पदा पुनःनिर्माण

–पूर्णप्रसाद मिश्र

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तीन वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४८५ सम्पदाको पुनःनिर्माण गरेको छ ।विसं २०७४ फागुन ३ गतेअघि ८० सम्पदा पुनःनिर्माण भएकामा त्यसपछि ४ सय ८५ पुरातात्विक सम्पदाका पुनःनिर्माण भएको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबार मूल भवन उद्घाटनपछि सार्वजनिक गर्नुभएको ‘सरकारका तीन वर्षे प्रमुख उपलब्धि’ मा उल्लेख छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त राजधानीको मुटुमा रहेको रानीपोखरी प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा शिलान्यास भएको थियो । भूकम्पले भत्किएका सम्पदा पुनःनिर्माणका लागि राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको थियो ।

ओली दोस्रो कार्यकालका लागि २०७४ फागुन ३ गते प्रधानमन्त्री बन्नुहँुदा पनि रानीपोखरी पुनःनिर्माणमा खास प्रगति भएको थिएन । तीन वर्षको अवधिमा रानीपोखरी र बीचको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण सम्पन्न गरी यस वर्ष दशैँअघि नै उद्घाटन भइसकेको छ ।

विश्वज्योतिबाट त्रिपुरेश्वरसम्म बृहत् टुँडिखेल

विश्वज्योति हलबाट त्रिपुरेश्वरसम्म खुल्ला रहने बृहत् टुँडिखेल गुरुयोजनाअन्तर्गत थप सौन्दर्यकरणको काम अघि बढेको प्राधिकरणले जनाएको छ । भूकम्पबाट क्षतिग्रस्त धरहरालाई ‘ऐतिहासिकता झल्कने र आधुनिकता टल्कने’ गरी नेपालीका गौरवको रुपमा उभ्याउन लागिएको छ । २२ तल्ले धरहरा पुनःनिर्माणमा २१ औँ तल्लाको ढलान सम्पन्न भएको छ ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा ‘म बनाउँछु, मेरो धरहरा’ अभियान शुरु गर्नुभएको थियो । सरकारका प्रमुख तीन वर्षे उपलब्धिमा प्रधानमन्त्री ओलीले पहिलोपटक सरकारबाट हट्नुअघि निर्माण थाल्न आवश्यक पूर्वतयारीसमेत सकिएको उल्लेख गर्नुभएको छ । “जनस्तरबाट स्रोत सङ्कलनको आधारसमेत बनाइएको थियो, तर करिब दुई वर्षपछि फेरि प्रधानमन्त्री बनेर आउने बेलासम्म ‘वरको इँटा पर’ पनि सारिएको थिएन”, उपलब्धि विवरणमा प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । पुरातात्विक एवं ऐतिहासिक महत्वका सिंहदरबारको पूर्व, दक्षिण र उत्तरी मोहडाको प्रबलीकरण सम्पन्न गरी सोमबार नै प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको छ । सिंहदरबारको पश्चिमी मोहडाको प्रबलीकरण अन्तिम चरणमा पुगेको छ । काठमाडौँको नामकरण भएको ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

वसन्तपुर दरबार क्षेत्र, बबरमहलजस्ता ठूला भवनको प्रबलीकरणसमेत अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति गरेको थियो । जसको पुनःनिर्माणका लागि रु १० अर्ब आठ करोड ८५ लाख ५२ हजार लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७२÷२०७३ देखि गत आव २०७६÷२०७७ सम्म रु तीन अर्ब ४० करोड ५८ लाख ८६ हजार खर्च भएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । सम्पदा पुनःनिर्माणका लागि चालु आव २०७७÷२०७८ का लागि रु एक अर्ब ७३ करोड ६६ लाख ५६ हजार बजेट स्वीकृत गरेको छ । यो बजेटबाट चालु आवमा २७८ सम्पदा पुनःनिर्माण गर्ने कार्यक्रम समावेश गरिएको छ । जसमध्येमा १७ वटाको पुनःनिर्माण सम्पन्न भएको विभागले जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत पुनःनिर्माण भइरहेका ७८ सम्पदा पनि चालु आवमा पुनःनिर्माण सम्पन्न भएको छ ।

हालसम्म १३७ वटा सम्पदा चालु आवमा काम गर्न खरिद प्रक्रिया सम्पन्न भइसकेको छ । पैतालीस सम्पदा पुनःनिर्माणको योजना बहुवर्षीय कार्यक्रमअन्तर्गत काम गर्न स्वीकृतिका लागि पेश गरिएको छ । बजेट अपुग भएकाले उक्त कार्यक्रम तोकिएको अवधिमा सम्पन्न गर्न नसकिएको प्रवक्ता कुँवरले सुनाउनुभयो । चालु आवको स्वीकृत कार्यक्रमका लागि अपुग रु ५० करोड बजेट प्राधिकरणसँग माग गरिएको पनि उहाँले बताउनुभयो ।

पशुपतिको आन्तरिक स्रोतबाट शुरु गरिँदै विश्वरुप पुनःनिर्माण

विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेअनुरुप पशुपति क्षेत्रस्थित विश्वरुप मन्दिर पुनःनिर्माण कार्यक्रम स्वीकृत भयो । स्रोत नभएकै कारण प्राधिकरणबाट बजेट आउन सकेन ।

विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरुप मन्दिर पुनःनिर्माण शुरु हुन सकेको थिएन । चालु आवको पहिलो चौमासिकमै विश्वरुपको ड्रइङ डिजाइन विभागबाट स्वीकृत भएपछि पशुपति क्षेत्र विकास कोषले आन्तरिक स्रोतबाटै पुनःनिर्माण शुरु गरेको छ । कोषले चालु आवमा आन्तरिक स्रोतबाट विश्वरुप मन्दिर पुनःनिर्माण शुरु गर्न रु १० करोड बजेट विनियोजन गरेको छ । मन्दिरसहित वरिपरिको सत्तल पुनःनिर्माणका लागि रु ७० करोड बजेट लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । बहु वर्षीय योजना अन्तर्गत आव २०७८÷२०७९ सम्ममा मन्दिर क्षेत्रको पुनःनिर्माण सक्ने लक्ष्य कोषले लिएको छ ।

पुनःनिर्माणका लागि ठेक्काको प्रक्रिया शुरु भइसकेको कोषका निर्देशक भरत मरासिनीले बताउनुभयो । ठेक्काको सूचना प्रकाशनपछि परेका आवेदनका आधारमा मूल्याङ्कनको चरणमा रहेको उहाँले जानकारी दिनुभयो । विभागबाट स्वीकृति प्राप्त भए पनि स्टमेटको पुनःसमीक्षा भने जारी रहेको कोषले जनाएको छ ।

विश्वरुप मन्दिरको इतिहास

हनुमानढोकाको लायकू बहाल क्षेत्रमा बेवारिसे रहेको मूर्तिलाई जङ्गबहादुर राणाले आफ्नो शासनकालमा पशुपति क्षेत्रको मृगस्थलीमा स्थापना गरेको इतिहास छ । प्रतिमाशास्त्रका पुस्तकमा विश्वरुपको वर्णन गर्दा ब्रह्मा, विष्णु र महेश्वरलगायत सबै देवता समाहित भएको उल्लेख गरिएको छ । धेरै बाहु, शिर, पाउ भएको विश्वरुप व्यापक र जन्म मृत्युको कारण भएको ती ग्रन्थमा उल्लेख छ । पुराणमा शिव, विष्णु र ब्रह्मालगायत अरु देवीदेवताको पनि विशिष्ट र व्यापकस्वरुपलाई विश्वरुप भनी उल्लेख गरिएको छ ।

विष्णुको विश्वरुपस्वरुप लिच्छविकालदेखि नै नेपालमा प्रसिद्ध रहेको थियो । चाँगुनारायणमा विष्णुको विश्वरुप मूर्ति छ । गीतामा वर्णन गरिएअनुसार महाभारत युद्धमा कृष्णले अर्जुनलाई देखाएको स्वरुपकै आकार चाँगुमा रहेको कोषले प्रकाशन गरेको ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा ९मूर्त र अमूर्त०’ नामक ग्रन्थमा उल्लेख छ । चाँगु र मृगस्थली क्षेत्रमा रहेको विश्वरुप मन्दिरका बीच मेल नरहेको ग्रन्थमा उल्लेख गरिएको छ । यहाँको मन्दिरमा विश्वरुप र विश्वरुपा एवं कामेश्वर र कामेश्वरी आलिङ्गन गरिरहेको मुद्राको मूर्ति छ ।

मूर्तिमा शिव र शक्ति दुवैका धेरै हात एवं टाउको देखाइएका छन् । हातमा विभिन्न थरीका हतियार देखाइएको छ । मूर्तिको अघि श्रीयन्त्र राखिएको छ । श्रीयन्त्रमै पूजा आराधना हुने गरेको छ । प्रत्येक अष्टमीका दिन विश्वरुपाको विशेष पूजा गर्नुपर्ने विधान रहेको छ । १२ फिट अग्लो धातुका पाता जोडिएको विश्वरुपको मूर्ति छ । अर्को मतानुसार बौद्ध धर्मसँग सम्बन्धित सम्बर देवताको मूर्ति विश्वरुप मन्दिरमा राखिएको भन्ने भनाइ पनि छ । यसैले विश्वरुप मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको समान आस्थाको केन्द्रका रुपमा रहेको छ ।

उपभोक्ता समितिमार्फत पुनःनिर्माण हुँदै रातो मच्छेन्द्रनाथ

विसं २०७२ माघ २ गते रानीपोखरी शिलान्यास भएकै दिन शिलान्यास गरिएको ललितपुरको रातो मच्छेन्द्रनाथ मन्दिर भने अझै पुनःनिर्माण हुन सकेको छैन । मन्दिर पुनःनिर्मााणका लागि प्रधानमन्त्री ओलीले नै शिलान्यास गर्नुभएको थियो । श्रीलङ्कन सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत भएको पुनःनिर्माणले गति नलिएपछि भङ्ग गरी उपभोक्ता समितिमार्फत काम शुरु भएको छ । श्रीलङ्कन सरकारले गरेको ठेक्का सम्झौता रद्द भएपछि रातो मच्छेन्द्रनाथ पुनःनिर्माणको स्रोत सरकारले व्यहोर्ने भएको छ ।

उपभोक्ता समिति र विभागबीच भएको सम्झौताअनुसार समितिले २०७८ असार १५ गतेभित्र रु तीन करोड आठ लाख लागतमा मन्दिरको पुनःनिर्माण हुनेछ । यसअघि श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण अघि बढाइएको थियो । पूर्वयोजनाअनुसार मन्दिरको काम अघि नबढेपछि जनप्रतिनिधि एवं स्थानीयको सुझावअनुसार ठेक्का तोडी उपभोक्ता समितिमार्फत गर्न लागिएको हो ।

मन्दिर पुनःनिर्माणको अनुगमनका लागि प्राधिकरणका कार्यकारी समिति सदस्यको नेतृत्वमा ललितपुर महानगरपलिका एवं सम्बन्धित वडाका प्रतिनिधि, विभागका प्रतिनिधि, बुङ्गमती क्षेत्र पुनःनिर्माण तथा विकास समितिका प्रतिनिधि, परामर्शदाता र विज्ञ सम्मिलित एउटा समिति पनि गठन गरिएको छ ।

उपभोक्ता समितिमार्फत सम्पदा पुनःनिर्माण गर्दा सकारात्मक परिणाम आएका छन् । रानीपोखरीको पिँध र पानी रहने वरिपरिको पर्खालको पुनःनिर्माण पनि उपभोक्ता समितिमार्फत नै भएको थियो । काष्ठमण्डप पनि उपभोक्ता समितिमार्फत नै पुनःनिर्माण भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.