राजनीति

एमसीसीबारे सत्तारूढ गठबन्धनको ठोस धारणा आउनुपर्छ

नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले एमसीसीबारे प्रतिपक्षी दलको धारणा अघि सत्तारूढ गठबन्धनको ठोस धारणा आउनुपर्ने बताउनुभएको छ ।

स्थानीय तह निर्वाचनलाई लक्षित गरी मंगलबारदेखि जनकपुरधाममा सुरु भएको नेकपा एमालेको मधेश प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उहाँले गठबन्धनमा रहेका दलहरुको एमसीसीबारे फरक–फरक धारणा आइरहेकाले एउटा ठोस धारणा आउनुपर्ने बताउनुभयो ।

“गठबन्धनमा रहेका नेताहरुको एमसीसीबारे फरक–फरक धारणा आइरहेका छन्”, वरिष्ठ नेता पोखरेलले भन्नुभयो, “त्यसैले सत्तारूढ गठबन्धनको तर्फबाट एउटै धारणा बनाएर एमसीसी संसद्मा ल्याएपछि हामीले हाम्रो पोजिसन दिन्छौँ ।”

“गठबन्धनका कतिपय नेताहरु एमसीसी ठीक छैन भन्ने एकातिर कार्यकर्तालाई उचाल्ने अर्काेतिर एमसीसी ठीक छ भनेर सुटुक्क अमेरिकालाई लेख्छन्”, वरिष्ठ नेता पोखरेलले भन्नुभयो, “यसरी दुई जिब्रोे हुनु भएन, जे छ त्यो प्रष्ट धारणा ल्याउनुपर्छ ।” एमसीसीका बारेमा धेरै कुरा टिप्पणी गर्नु, विवाद गर्नु ठीक नभएको उहाँको कथन थियो ।

एमसीसीलाई विवादित बनाउने काम गलत भएको भन्दै उहाँले एमसीसीबारे जनतामा अनावश्यक भ्रम छर्ने काम भइरहेकाले सचेत हुनुपर्ने बताउनुभयो ।

मुलुकमा राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब आफ्नो पार्टी मुलुकको आर्थिक विकास र समृद्धि र राष्ट्रिय स्वाभिमान तथा स्वतन्त्रताको एजेण्डासहित अघि बढेको उल्लेख गर्दै उहाँले आर्थिक विकास र समृद्धिबिना मुलुक अब अघि बढ्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश र जनतालाई खुसी बनाएर मुलुकलाई समृद्ध बनाउने एमालेको एजेण्डा देखेर अत्तालिएका दल एमालेविरुद्ध गठबन्धन गरेको आरोप लगाउनुभयो ।

जनकपुरधाममा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रममा पार्टीका वरिष्ठ नेता पोखरेल, उपमहासचिव ज्ञवाली, पार्टीका पोलिटब्युरो सदस्य देवेन्द्र दाहाललगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, मधेश प्रदेशका आठवटै जिल्लाका अगुवा नेता कार्यकर्ता गरी १८० जना प्रतिनिधिको सहभागिता रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.