राजनीति

“एमसीसीलाई सत्तामा पुग्ने भर्याङ बनाउन हुँदैन”

नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताउनुभएको छ ।

एमसीसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भर्याङ बनाउन नहुने बताउँदै उहाँले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनुपर्छ भन्नुभयो ।

नेत्री भुसालले नेकपा९माओवादी केन्द्र०, नेकपा९एमाले० र नेपाली कांग्रेसका यसअघिका सरकारले एमसीसीलाई स्पष्टसँग अघि बढाएको अवस्था रहेको स्मरण गर्दै एमाले सरकारले त संसद्बाट पारित गर्नुपर्छ प्रावधान नै राखेको घटना सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “एमसीसी यथाशीघ्र सदनमा प्रवेश गराएर धेरै छलफल गरियो भने उठेको प्रश्नबारे आमजनता स्पष्ट हुन्छन्, हाउसमा टेबल भएर छलफल भइसकेपछि चित्त नबुझ्नेले मतदान गर्न सक्दिन भन्न पाउँछ नि ।” हाम्रो पार्टीले एमसीसी सदनमा प्रवेश गराएर व्यापक छलफल गर्नुपर्छ भनिरहेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका सचेतक उमाशङ्कर अरगरियाले नेपाल र नेपालीको हितमा रहेको एमसीसी सम्झौतालाई सदनमा छिटो प्रवेश गराई गहन छलफल हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दल र केही नेता विशेषमा मात्र सीमित नतुल्याएर यथाशीघ्र एमसीसीलाई छिटो सदनमा प्रवेश गराउनुपर्छ । यो नेपालको विकास र नेपालीको समृद्धिसँग सम्बन्धित विषय छ ।”

यसै गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद इञ्जिनियर मोहन आचार्यले एमसीसी नेपालको हितमा रहेको बताउनुभएको छ । विगतमा कांग्रेस, एमाले, माओवादी नेतृत्वको सरकारले एमसीसीबाट सहयोग लिने प्रक्रियालाई निरन्तर अगाडि बढाएको उल्लेख गर्दै उहाँले सत्तामा हुँदा एउटा कुरा र विपक्षमा हुँदा अर्को कुरा गर्ने नेपाली राजनीतिको दोहोरो चरित्रले एसिसीलाई गिजोलेको बताउनुभयो ।

एक कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाली कांग्रेसले सत्तामा रहँदा पनि र प्रतिपक्षमा रहँदा पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको कुरा गर्दै आएको छ ।”

नेता आचार्यले नेपाललाई आवश्यकपर्ने आयोजना छनोटका लागि नेपाल सरकार र एमसीसीको संयुक्त लगानीमा सञ्चालन हुने ६३ करोड अमेरिकी डलरको पूर्वाधार आयोजना व्यवस्थापनका लागि मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) स्थापना भएको भन्दै सो विकास समिति नेपालको विकास समिति ऐन, २०१३ अनुसार स्थापित भएको बताउनुभयो ।

एमसीसी परियोजनाअन्तर्गत सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी हुँदै जाने प्रसारण लाइन निर्माण गर्ने तथा दाङको धानखोलादेखि लमहीसम्मको सडकखण्ड स्तरोन्नति गरिने कार्यक्रम रहेको बताउँदै उहाँले यी परियोजनाको निर्माणबाट नेपालले विद्युत् निर्यात गर्नसक्छ र त्यसबाट रोजगारी सिर्जना एवम् राजस्व वृद्धि हुनेछ भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.