प्रदेशसुदूरपश्चिम

सुूरपश्चिमका महत्वपूर्ण आयोजनाको प्रगति निराशाजनक

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईसहितको टोली कञ्चनपुरमा निमार्णाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामको स्थलगत निरीक्षणका लागि महेन्द्रनगर आइपुगेको छ ।

जलस्रोत तथा सिँचाइ सचिव राई र सिँचाइ विभागका महानिर्देशक सुशील आचार्यको टोलीले यहाँका सिँचाइ आयोजनाको स्थलगत निरीक्षण गरेको हो । मन्त्री, मन्त्रालयको टोली र राजनीतिक दलका नेताहरुले बेलाबखतमा स्थलगत निरीक्षण गर्दैआए पनि कामको गति बढाउने तथा समयमै आयोजना सम्पन्न गर्नतर्फ ध्यान पुगेको भने देखिँदैन ।

कञ्चनपुर र कैलालीको मालाखेतीको गरी ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित डेढ दशकअघि प्रारम्भ भएको महाकाली सिँचाइ आयोजनाको हालसम्म १३ किलोमिटर मात्रै मूल नहर निर्माण भएको छ ।

हाल २८ किलोमिटर लामो मूल नहर निर्माण जारी रहे पनि प्रक्रियागत समस्या र आर्थिक अभावका कारण आयोजनाले गति लिन भने सकेको छैन । कूल १५१ किलोमिटर लामो उक्त नहर आयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने शाखा नहर निर्माण गर्न बाँकी नै छ । महाकालीको पानी नहरमा बग्न अझै समय लाग्ने अवस्था छ ।

मूल नहरसँगै २२ शाखा नहर निर्माणको गृहकार्यमा जुटेको आयोजनाले चाँडै करिब ५० किलोमिटर लम्बाइका शाखा नहर निर्माण थाल्ने आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर शम्भू पण्डितले जानकारी दिनुभयो ।

“शाखा नहरको स्टिमेट र जग्गाको मुअब्जाको लगत लिने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “यही महिनाभित्र शाखा नहर निर्माणको ठेक्का आह्वान गर्ने योजनासहित काम हुँदैछ ।” मूल नहर निर्माण गर्न अबौँ रुपैयाँ खर्च भइसकेको छ ।

महाकाली नदीदेखि नेपाल–भारत सीमा क्षेत्रसम्म भारतले महाकाली सन्धीअनुसार एक हजार दुई सय मिटर मूल नहर र हेडरेगुलेटरलगायत संरचना बनाउनुपर्ने हुन्छ । भारतले ढिलो गरी ति काम सम्पन्न गरेको छ । दुवै देशको सीमाभन्दा वर करिब दुई सय मिटर मूल नहर निर्माण गर्न बाँकी छ ।

हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि रु दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भएको छ । त्यही अनुसार तीन प्याकेजमा काम भइरहेको छ । महाकाली पारीको दोधारा चादँनीमा नहर निर्माणका लागि सर्वे थालिए पनि त्यो काम अहिले प्रभावित छ । सर्वेका क्रममा स्थानीयवासीले अवरोध गरेपछि सो काम रोकिएको हो ।

दोधारा चादँनीका लागि ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने महाकाली सन्धीमा उल्लेख छ । त्यसै गरी कञ्चनपुरको अर्को ठूलो आयोजना हो, महाकाली नदीको चार लेनको मोटेरेवल पक्की पुल ।

रु तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुलअन्तर्गत पोखरी निर्माण, पहुँच मार्गको केही भाग, गाइडबण्डलगायत काम अहिले प्रभावित भएको छ । ठूला ढुङ्गा पाउन नसकेपछि गाइडबण्डका लागि महाकाली पुल आयोजना कार्यालयले अन्य विकल्पबारे सुझावसहित डिजाइन परिवर्तनका लागि माथिल्लो निकायमा फाइल पेश गरेको छ । तर हालसम्म त्यसको सुनुवाइ भएको छैन ।

डिजाइन परिवर्तनको टुङ्गो नलाग्दा निर्माण करिब चार महिनायता प्रभावित छ । “चार लेनको पुलको मात्रै काम सकिएको छ”, पुल निर्माण कम्पनी कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्सन कम्पनी सिएफसी) जेभीका इन्जिनीयर किशोरराज पाण्डेयले भन्नुभयो, “डिजाइन परिवर्तनको टुङ्गो लगानेसम्म कामले गति पाउन गाह्रो छ ।”

गत कात्तिक पहिलो साता महाकालीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायत संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको काम अझै दु्रत गतिमा अघि बढ्न सकेको छैन् ।

पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन करिब एक लाख ८१ हजार घनमिटर ढुङ्गा आवश्यक थियो । विभिन्न निकायमा ढुङ्गाका लागि पहल गर्दा पाउन मुश्किल भएपछि डिजाइन परिवर्तनमा पुल योजना कार्यालय अघि सरेको हो । पुल आयोजनाको ७३ प्रतिशत बित्तिय प्रगती छ ।

सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न पुलको पारी र वारी दुवैतर्फ पाँच हजार चार सय मिटर बाँध निर्माण गर्ने योजना छ । विसं २०७४ भदौदेखि सुरु भएको पुल निर्माणको अवधी आगामी फागुन १५ गतेसम्म रहेको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्रलाई सरदमुकाम महेन्द्रनगर र कैलालीको धनगढीलाई जोड्ने हुलाकी सडकको कामको अवस्था पनि सन्तोषजनक छैन् । निर्माण कम्पनीहरुको कामप्रतिको ढिलासुस्ती, कोरोना कहर र मौसम प्रतिकुलताका कारण देखाउँदै आयोजनाको काम लिम्बने क्रम चलिरहेको छ ।

विसं २०७३ फागुनमा तीस महिनाभित्र निर्माण सक्ने गरी ६२ किलोमिटर हुलाकी सडक तीनवटा प्याकेजमा निर्माण भइरहेको छ । “३४ किलोमिटर सडक कालोपत्र भइसकेको छ”, हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सुचना अधिकृत इन्जिनीयर पदमबहादुर मडैले भन्नुभयो, “सबै गरेर ७५ प्रतिशत काम भइसकेको छ ।” उहाँले केहीसमय अघिसम्म मौसम प्रतिकुलताका कारण कालोपत्र गर्न ढिलाइ भए पनि गर्मी सुरुभएसँगै त्यसले गति लिने बताउनुभयो ।

अन्तिम प्याकेज (बेल्डाँडीदेखि दैजीसम्म)को भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले रुख कटान प्रक्रिया केही ढिलाइ भएको थियो । यसैगरी बिचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश सिद्धीसाइँ जेभीले पाएको थियो । रु एक अर्ब नौ करोडभन्दा बढी लागतको उक्त आयोजना समयमै सम्पन्न गर्न स्थानीयले पटक÷पटक दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.