राजनीति

राजसंस्थाको मुद्दा मात्र अघि सारेर हुँदैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना मुद्दालाई मात्र अगाडि सारेर हिन्दुराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई ओझेल पार्ने काम भएकोले राप्रपा नेपाललाई ब्युताउँन वाध्य भएको बताउनुभएको छ ।

बिहिबार पार्टीका भातृ संगठनहरूको संयुक्त बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको दावी गर्दै सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने जानकारी दिनुभयो ।

सम्बोधनका क्रममा थापाले नेपाललाई अन्तराष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धाको थलो बनाइने खतरा बढेको र जिम्मेवार भनिएका राजनीतिक दलहरूले उनीहरूलाई सहयोग पुग्ने गरी निर्वाध आमन्त्रण गर्ने परिपाटी बसालेको भन्दै त्यसको अन्त्य गर्न राप्रपा नेपाललाई बलियो शक्ति बनाउनुपर्ने बताउनुभयो ।

त्यस्तै उाँले पार्टीलाई ठूलो बनाउने नाममा गणतन्त्र बोकेका लगायतलाई राप्रपामा भित्र्याएपछि पछिल्लो समयमा राजसंस्था पुनर्स्थापना मुद्दालाई मात्र अगाडि सारेकाले अब राप्रपा नेपालले रणनीतिक रुपमा हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर अघि बढ्ने बताउनुभयो ।

उहाँले सनातनदेखि चलिआएको धर्म परम्परा र संस्कृतिको संरक्षण गर्दै देशको विकास गर्ने सम्बर्धनवादको सिद्धान्त अवलम्वन गरी पार्टीको दायरा फराकिलो पारेर ९४ प्रतिशत ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउने राप्रपा नेपालको लक्ष्य रहेको पनि पनि प्रष्ट पार्नुभयो ।

राप्रपाको हालै सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले सो पार्टीबाट अग भएको घोषणा गर्दै राप्रपा नेपाल ब्यूँताउने घोषणा गर्नुभएको थियो । फागुन ७ गते सो पार्टीको राष्ट्रिय सभागृहमा औपचारिक घोषणा सभा राखेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.