गण्डकीप्रदेश

विश्वविद्यालयको शिक्षा युवा पलायन रोक्ने हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयले दिने शिक्षा बढ्दो युवा विदेश पलायनलाई रोक्ने हुनुपर्ने बताउनुुभएको छ ।

गण्डकी विश्वविद्यालयको चौथो वार्षिकोत्सवको शुक्रबार पोखरा महानगरपालिका–३२ मालमुलस्थित विश्वविद्यालयको मुख्य भवन परिसरमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले देशको जनशक्ति विदेश पलायन हुने क्रम बढिरहेको बताउनुुभयो । विश्वविद्यालयले विद्यार्थीको विश्वास जित्न नसकेको उहाँको भनाइ थियो । शिक्षा क्षेत्रमा राजनीतिकरण हुन नहुने उल्लेख गर्दै उहाँले यसका लागि सबै इमान्दार बन्नुुपर्नेमा जोड दिनुुभयो ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले युवा पलायनसँगै घरवार, संस्कृतिका साथै पूँजी पलायन भइरहेका कारण यसबारे गम्भीर बन्नुुपर्ने बताउनुुभयो । गण्डकी विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै अनुसन्धान एवम् रोजगारमुलक शिक्षामा जोड दिनुुपर्ने उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वविद्यालयको अभावका कारण नभइ प्रदेश एवम् देशको आवश्यकता अनुसारको शिक्षा दिने सोचका साथ गण्डकी विश्वविद्यालय स्थापना भएको स्पष्ट पार्नुभयो । गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले विश्वविद्यालयले देशका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्ने किसिमले त्यही किसिमका पाठ्यक्रम पढाउँदै अध्ययन अनुसन्धानमा जोड दिएको बताउनुुभयो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले मागमा आधारित प्राविधिक शिक्षा अहिलेको आवश्यकता औंल्याउनुुभयो । विश्वविद्यलायका रजिष्टार डा कैलाश तिमल्सिनाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री सुशिला सिम्खडा, उपकुलपति प्रा डा नवराज देवकोटा, पोखरा विश्वविद्यलायका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल, पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुुर कार्कीलगायतले व्यवहारिक एवम् रोजगारमुलक शिक्षाले नै युवा पलायन रोक्न सकिने धारणा राख्नुुभयो । कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगितामा विश्वविद्यालयका तर्फबाट विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा शिक्षासेवी जर्ज जोनलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.