अर्थ

नेपाली सेनाले सुरु गर्यो टिंकर जोड्ने सडकको निर्माण प्रक्रिया

नेपाल भारत र चीनको त्रिदेशीय नाका जोड्ने टिंकरसम्मको सडक निर्माणका लागि नेपाली सेनाले प्रक्रिया सुरु गरेको छ । अतिक्रमित नेपाली भूमि व्यासको लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रूपमा गत वैशाखमा चिनियाँ नाका लिपुपास जोड्न तावाघाट–लिपुलेक सडक बनाएपछि सरकारले सुस्त गतिमा रहेको दार्चुला–टिंकर सडकको माथिल्लो भाग बनाउने जिम्मा सेनालाई दिने निर्णय गरेको थियो ।

१० वर्षमा टिंकर नाका जोड्ने लक्ष्य राखेर २०६५ सालबाट निर्माण सुरु भएको यो सडक ठेकेदार र आयोजना कार्यालयको लापरबाहीका कारण निकै सुस्त गतिमा निर्माण भइरहेको थियो ।

टिंकर जोड्ने सडकको अहिलेसम्म व्यास–३ तोसरपानीसम्म ४३ किलोमिटर ट्र्याक खोलिएको छ । तोसरपानी र कोठेधारसम्मको ७ किलोमिटर ट्र्याक महाकाली लोकमार्ग आयोजना कार्यालयले नै खोल्नेछ ।

सरकारले गत वैशाखमा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–टिंकर सडक खण्डको ८७ किलोमिटर ट्र्याक खोल्न सेनालाई जिम्मा दिने निर्णय गरेको थियो । जिम्मा पाएको १० महिनापछि सेनाले निर्माणको प्रारम्भिक तयारी थालेको हो ।

सडकको डिजाइन इस्टिमेटका लागि मंगलबार परामर्शदाता छनोटका लागि महिना दिनको म्याद राखेर बोलपत्र आह्वान गरिएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलेले परामर्शदाता चयनपछि सर्भेका लागि तीन महिनाको समय दिइने र सर्भे रिपोर्ट प्राप्त भएपछि ठेक्का प्रक्रियामा अगाडि बढ्ने र निर्माणको काम सुरु गरिने बताउनुभयो ।

निर्माणको तयारी प्रक्रिया सुरु भएसँगै सेनाको टोली बन्दोबस्तीका सामानसहित यसै साता व्यास क्षेत्र उक्लिएको छ । सेनाको विकास निर्माण कार्यदलको टोली निर्माणस्थल नजिक क्याम्प स्थापना गरेर बसेको छ ।

प्रवक्ता पौडेलले प्रमुख सेनानीको कमान्डमा १ सय ४३ जनाको टोली दुई वटा क्याम्पमा बसालिने र फागुन १ गते व्यास गाउँपालिकाको सुन्सेरानजिक गाल्थामा बेस क्याम्प स्थापना गरेको बताउनुभयो । दोस्रो बेस क्याम्प फागुन १५ गतेभित्र व्यास–२ दुम्लिङमा राख्ने तयारी छ ।

भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारले व्यासको छाङरुमा सशस्त्र प्रहरीको गुल्म पनि स्थापना गरेको छ। त्यसयता यो क्षेत्रमा १२ महिनै सुरक्षाकर्मी बसिरहेका छन् । यसअघि प्रहरी चौकीहरू हिउँदमा बेंसी झर्ने गर्थे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.