बिचार

यस्तो छ ठाडो भाका र बत्ती कर्पुटारका विशेषता

‘कता गयो देउबहादुर दुरा
शून्य भयो कर्पुटार बजारʾ

पश्चिम नेपालमा ठाडो भाकाका गीत निकै लोकप्रिय छन् । लोकसाहित्य अन्तर्गतको महत्वपूर्ण विधाका रुपमा रहेको ठाडा भाकाका गीत पश्चिम नेपालको पहिचान हो । यही ठाडो भाकाको उद्गमस्थल लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ७ कर्पुटारले चासो र चर्चा कमाएकोे छ ।

धार्मिक महत्वको मध्यनेपाल – ७ स्थित इशानेश्वर महादेव मन्दिरको १०० मिटर उत्तरमा रहेको गौरीकुण्डको २० मि पूर्व टारी डिलको भिरालो परेको थुम्का कर्पुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा शिवरात्रि मेलाका दिन रातभर बसेर ठूलास्वाँराका देउबहादुर दुराले ठाडो भाकामा पहिलो पटक गीत गाउनुभएको थियो । पछि ठाडो भाकामा विभिन्न गायकले विशेष योगदान गर्नुभएको थियो ।

शिवरात्रिमा बत्ती बाल्ने क्रममा लमजुङ नेटाका देउबहादुरले विसं १९५० का दशकमा पहिलो पटक करापुटारमा ठाडो भाका गाएकाले यसको गरिमामय इतिहास छ । सात दिन सात रातसम्म पनि गीत गाउन सक्ने ठाडो भाकाका नायक उहाँको नामसँग जोडेर अहिले पनि मानिसहरू गाउँछन्–

‘माइत जाँदा कुरौनी पाहुर,
गयो क्यारे देउबहादुर लाहुर’,
‘देउबहादुर दुरा करापुटार झर्यो,
बूकी फूल लाउँदै लाउँदै’

यो भाका अहिले लमजुङ, गोरखा, तनहुँ, कास्की तथा स्याङ्जा जिल्लामा प्रचलित छ । यसमा केही स्थानीय भेद पनि छन् । कर्पुटारमा गाइएको भाकाको उद्गमस्थल लमजुङको कर्पुटार मुख्य थलो भएकाले यसलाई कर्पुटारे भाका वा लमजुङे भाका भन्नुपर्ने भए पनि पछि त्यो नभनी ठाडो भाकाका रुपमा लिइएको लोकसाहित्यका अनुसन्धाता प्रा डा कुसुमाकर न्यौपानेले बताउनुभयो । “लमजुङको कर्पुटारबाट सुरु भएका कारण यसलाई कर्पुटारे भाकाका रुपमा लिइनुपर्छ”, उहाँले भन्नुभयो । “कर्पुटारमा लाग्ने महाशिवरात्रि मेलामा सुरु गरिएको यो भाकाका गीत अहिले पछिल्लो पुस्ताले पनि गाउने गरेका छन् ।”

‘शिवरात्रि कर्पुटार,
चैतेदसैँ बागलुङ बजार’

ठाडो भाकाको यस्तो गीत अन्त्यानुप्रास मिलाएर गाउनुपर्छ । सो गीतका टुक्का प्रायः प्रकृतिसँग जोडिएर माया र पीरतिमा टुङ्गिने गर्छन् ।सो भाकामा गाउँका, दुःख, विरह, वेदना, कुण्ठा, प्रेम, समाज, वातावरण, समसामयिक घटना, इतिहास, सामाजिक परिवेशलगायत विषय समेटेर गाउने गरिन्छ । अन्य दोहरी गीतभन्दा उर्वर मानिने ठाडो भाकालाई स्थानीयवासीले दिनभर काम गरेर थाकेका बेलामा चौतारीमा बसेर मनलाई हलुङ्गो बनाउने माध्यमका रुपमा पनि लिने गरिएको छ ।

प्राचीनकालदेखि मेलापात र गाईवस्तु चराउँदा मनोरञ्जनका लागि गाइने ठाडो भाकामा पछिल्ला वर्ष दोहोरी गीत आउने क्रम पनि बढ्दै गएको छ ।

शिवरात्रिका अवसरमा गाइने ठाडो भाकासँगै सन्तानोत्पत्तिको कामना गर्दै बालिने ठाडो बत्ती कर्पुटारको अर्को सांस्कृतिक मौलिकता हो । सो अवसरमा दिनभर निराहार व्रत बस्ने र रातभर उभिएर ठाडो बत्ती बाल्दा सन्तान प्राप्ति हुन्छ भन्ने जनविश्वासका कारण प्रत्येक वर्ष शिवरात्रिमा यहाँ देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

सन्तान जन्मेपछि सन्तान लिएर दर्शनार्थी मन्दिरमा पुग्ने गरेका छन् । शिवरात्रिमा वर्षेनी एक हजारभन्दा बढी भक्तजन उठेर बत्ती बाल्छन् । उक्त क्रममा ठाउँठाउँमा भजन कीर्तनसँगै ठाडो भाकाका गीत गाउने गरिन्छ ।

‘सन्तानेश्वर महादेव’ मन्दिरमा आफ्ना सन्ततिको दीर्घायुको कामना गर्दै बत्ती तथा लाखबत्ती बाल्नेको समेत शिवराित्र मेलामा भिड लाग्ने गरेको स्थानीय चन्द्रज्योति आमा समूहका सल्लाहकार सरस्वती सोतीले जानकारी दिनुभयो ।

शिवरात्रिमा सहभागी बन्नेहरू उक्त दिन सबेरै नजिकैको मादी नदीमा स्नान गरी मन्दिरमा गाईको दूध एवं बेलपत्र चढाउँछन् । त्यस अवसरमा पुराण वाचन, रुद्री पाठ, सामूहिक व्रतबन्धका साथै विवाह गर्ने गरिएको छ ।

मादी र मिदिम नदीका किनारमा रहेको फराकिलो फाँटमा रातभर ठाउँठाउँमा भजन कीर्तनसहित बत्ती बालिएको दृश्यले जो कोहीलाई लोभ्याउने गर्छ । शिवरात्रि मेलाका साथै एकादशी, औंँसी, पूर्णिमा, सङ्क्रान्तिलगायत तिथिमा पनि भारतसहित देशका विभिन्न जिल्लाबाट बत्ती बाल्न भक्तजन आउने गरेका छन् ।

मन्दिर उत्पत्ति

ईशानेश्वर महादेवको उत्पत्ति एवं उत्खननका सन्दर्भमा हिन्दू धर्मग्रन्थका विभिन्न पुराणमा उल्लेख गरिएको मन्दिरका पुजारी परशुराम सोतीले बताउनुभयो । हिन्दू धर्मशास्त्रको ‘स्वस्थानी व्रतकथा’मा महादेवले सतीदेवीको मृत शरीर बोकी पृथ्वी भ्रमण गर्ने क्रममा महेन्द्रगिरिमा पुग्दा दाहिने तिघ्रा पतन भएको उल्लेख छ ।

महेन्द्रगिरि हालको ईशानेश्वरस्थित चिसंकुलाई भनिएको संस्कृतिविद् बताउँछन् । त्यसपछि ईशानेश्वरमा इन्द्राक्षीदेवी, अद्र्धगामिनी, योगिनी र तारकेश्वर महादेव उत्पन्न भएर शिवशक्तिका स्वरुपमा रहेको धार्मिक विश्वास लिइएको छ । कथानुसार त्यहीँ आएर लक्ष्मी आई नाना द्रव्य चढाएर सेवा गरेको र कार्तिक कृष्ण अमावस्याको दिन सम्पूर्ण लोकले आफूलाई पूजा गरी सम्मान गरून् भनी वरदान मागेकामा ईश्वरी प्रसन्न भई ‘तथास्तु’ भनेर वरदान दिएको धार्मिक किंवदन्ती छ ।

पुजारी परशुरामका अनुसार आजभन्दा छ शताब्दीअघि एक किसानले धानको बीउ राख्न हल गोरु लिएर जोत्न जाँदा फालीको टुप्पाले शिवलिङ्ग स्वरूपको शिला जोतिएर रगत बगेको र गोरुसहित उनी जलेर मरेको किंवदन्ती छ । उक्त समयको गोरुको सिङ अझै पनि मन्दिरमा सुरक्षित राखिएको पुजारी परशुरामले जानकारी दिनुभयो । धार्मिक तथा ऐतिहासिक महत्वलाई पहिचान गरी तत्कालीन गोरखाका निःसन्तान राजा कृष्ण शाहले शक संवत् १४१४ मा आफ्ना सीपयुक्त पल्टन प्रयोग गरी हाल रहेको मन्दिर निर्माण गरेको उल्लेख छ । पछि उनलाई पुत्रलाभ भएको र छोराको नाम शिवरूप सम्झेर रुद्र शाह राखिएको भनाइ छ ।

लमजुङका राजा वीरनारायण शाहद्वारा शिवरात्रिमा दर्शन गर्न आउने फकिर, फुकुरा एवं जोगीलाई खानपान तथा आवास व्यवस्था गर्न सातबीस मुरी खेतको सनद र सदावर्त गुठीको व्यवस्था गरिएको पाइन्छ । शिलालेखमा उल्लेख नभए पनि विसंं १८१८ मा हरिनारायण पोखरेलका भानिज कल्याण घिमिरेका पाँचौंँ पुस्ताका सन्तान हरिनारायणद्वारा पुजारी गुठी ६० मुरीसहित कपिलमणि सोतीलाई महादेवका पाँच मुखमध्ये ईशानकोणमा अवस्थित ‘तारकेश्वर’ मन्दिरको पुजारी नियुक्त गरिएको सोती वंशावलीमा उल्लेख छ । हाल उनका सन्तान, दरसन्तानबाट नै नित्य पूजा हुँदै आएको छ ।

दैनिक पूजा सञ्चालन गर्न सोतीहरू संलग्न पुजारी व्यवस्थापन समिति बनाइएको अर्का पुजारी गोविन्दप्रसाद सोतीले बताउनुभयो । प्रत्येक वर्ष महाशिरात्रिपछि पुजारीको जिम्मेवारी हेरफेर गर्ने प्रचलन छ । यस वर्ष पूजाआजाको व्यवस्थापन तीन जनाले गर्दै आउनुभएको छ । प्रत्येक महिना १ देखि १० सम्म परशुराम, ११ देखि २० सम्म चन्द्रमणि र २१ देखि ३० गतेसम्म गोविन्दप्रसाद सोतीले पूजा गर्दै आउनुभएको छ । पुजारीले गुठी उपभोग गरी पूजा कर्म सञ्चालन खर्च जुटाउँछन् । महादेवलाई सामूहिक आस्थाको केन्द्र मानेर हरेक वर्ष वैशाख १ र कात्तिक १ गते गाउँलेले बाजागाजासहित सामूहिक रुद्री पूजा गर्ने परम्परा छ ।

ईशानेश्वर क्षेत्रलाई धार्मिक पर्यटनका केन्द्र बनाउन लागिएको छ । यस क्षेत्रमा एक सय आठ धारा निर्माण गर्ने गरी काम अघि बढेको छ । भक्तजनबाट आउने दान दक्षिणा तथा बेलाबखत लगाइने महायज्ञको बजेटबाट आठ रोपनी जग्गा खरिद गरेर केही पूर्वाधार बनाइएको छ । सो क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउन गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष रु ५० लाख सहयोग गरेको समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकमबाट धर्मशाला निर्माण गर्न लागिएको छ । चौबिसकोठे धर्मशाला निर्माणको लक्ष्य भए पनि हाल आठ कोठा निर्माण भइरहेको छ । प्रदेश सरकारले यस वर्ष रु दुई लाख मात्र विनियोजन गरे पनि क्रमागत रुपमा बजेट दिने आश्वासन प्राप्त भएको उहाँको भनाइ छ ।

ईशानेश्वर महादेव मन्दिरको पुनःनिर्माण गरिएको छ । विसं २०७२ वैशाखको भूकम्पले क्षति पुगेको मन्दिरको पुरातत्त्व विभागका सहयोगमा रु एक करोड २० लाख ६८ हजारका लागतमा पुनःनिर्माण गरिएको हो । विसं २०७३ माघ ३० गतेदेखि सुरु भएको पुनःनिर्माण २०७५ मा सम्पन्न भएको छ ।

मन्दिरमा रु १८ लाख लागतमा एक हजार ५०० किलोग्रामको तामाको छाना प्रयोग गरिएको छ । छाने शैलीमा पुनःनिर्माण गरिएको मन्दिरमा भक्तपुरे इँटाको प्रयोग गरिएको तथा कलात्मक झ्याल, ढुङ्गा राखिएको ईशानेश्वर महादेव क्षेत्र विकास समितिका कार्यालय प्रमुख चन्द्रकिरण घिमिरेले जानकारी दिनुभयो ।

नवनिर्मित मन्दिरमा झ्याल, ढोका र टुँडालमा कुँदिएका मूर्ति, चित्र र जडान गरिएका इँटा र ढुङ्गाको अध्ययन र विश्लेषणले मन्दिरको प्राचीनतालाई झल्काएको छ । करिब ५० फिट अग्लो र २० फिट चौडा मन्दिरको मध्यभागमा इशानेश्वरको प्राकृतिक शिवलिङ्ग तथा वरिपरि शिवपञ्चायनका मूर्ति छन् । मन्दिरको पूर्व दिशामा एक सय मिटर पूर्व पार्वता र पाँच सय मिटरमा गोमतीका किनारमा गणेश मन्दिर छन् ।

विभिन्न दानदातामार्फत मन्दिर परिसरमा प्राप्त आठ रोपनी जग्गामा विभिन्न पूर्वाधार निर्माण हुने क्रम चलेकामा हाल १०८ धारा निर्माण भइरहेको छ । मध्यनेपाल नगरपालिकाबाट प्राप्त रु ३० लाखभन्दा बढी आर्थिक सहयोगका साथै विभिन्न दाताका सहयोगमा निर्माण अघि बढाइएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

नगरपालिकाले मन्दिर वरपरको एक सय मिटरभित्र घर निर्माणमा रोक लगाएको छ । सो क्षेत्रलाई मुख्य केन्द्र बनाएर समग्र नगरपालिकाको धार्मिक पर्यटन विकाससँगै यसलाई समृद्धिको आधार बनाउनका निम्ति नगरपालिकाले प्रयास थालेको छ । यस स्थललाई धार्मिक एवम् सांस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सम्भावनालाई उजागर गर्न स्थानीयवासी तथा राज्य सबैको साथ र सहयोग आवश्यक हुने अध्यक्ष घिमिरेको भनाइ छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.