जन सरोकार

रासस हीरक वर्षमा प्रवेश- उत्कृष्ट पत्रकार पुरस्कृत, १२ जनालाई दीर्घसेवा पदक

राज्यको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) आज ६० औँ वर्षमा प्रवेश गरेको छ । यस वर्षलाई राससले हीरक वर्षको रुपमा मनाउने भएको छ । प्रमुख अतिथि रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुभयो ।

निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर २०१८ फागुन ७ गते रासस स्थापना भएको हो । ‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ ।

विसं २०१७ फागुन ७ गते ९१८ फेब्रुअरी १९६२० निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो । ‘रासस ऐन, २०१९’ जारी भएपछि राष्ट्रिय समाचार समिति एउटा अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रुपमा क्रियाशील छ ।

राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ । उहाँको अध्यक्षतामा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्छ । राससले हाल मुलुकको सङ्घीय संरचनाअनुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ । वाग्मती र कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा राससका आफ्नै कार्यालय तथा अन्य जिल्ला कार्यालय भवन छन् ।

फ्रान्सका अनुवादक तथा विज्ञापन व्यवसायी चाल्र्स लुइस हवासले पेरिसमा सन् १८३५ मा एजेन्सी फ्रान्स प्रेस स्थापना गरी समाचार समिति पत्रकारिताको जग बसाल्नुभएको थियो । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइनजस्ता आमसञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । झण्डै २०० को सङ्ख्यामा टेलिभिजन र केवल टेलिभिजन दर्ता भई १०० का हाराहारीमा सञ्चालनमा रहेको अवस्थामा राससले ‘श्रव्यदृश्य’ सेवा पनि निकट भविष्यमा नै शुरु गर्दै छ ।

राससले नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय समाचार, आलेख, श्रव्य, तस्वीरलगायत सामग्रीमार्फत सेवा प्रदान गर्दै आएको छ । आधिकारिक, विश्वसनीय, सन्तुलित र तथ्यपूर्ण समाचार सम्प्रेषण नै राससको मूल मन्त्र हो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङबाट रासस हीरक वर्ष प्रवेशका अवसरमा प्राप्त शुभकामना सन्देशमा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालको विकास र समृद्धिलाई गति दिन राससजस्तो देशव्यापी सञ्जाल भएको समाचार समितिको भूमिका अहं भूमिका हुने उल्लेख छ ।

आज केन्द्रीय कार्यालय, भद्रकालीमा हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङबाटबाट सम्मान र पुरस्कार प्रदान हुँदैछ । समारोहमा उत्कृष्ट छनोट भएका समाचारदाताका साथै आलेख र तस्वीर विधामा पुरस्कार प्रदान गरिँदैछ ।

राससले समाचार, सूचना र विचार प्रकाशन तथा प्रसारण माध्यमलाई उपलब्ध गर्ने मात्र नभई राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई अझ मजबुत बनाउन पनि अग्रणी भूमिका खेलेको छ । राससले समाजमा पछि परेका समुदायलाई मूल प्रवाहमा ल्याउन उनीहरूका भावनालाई पनि प्राथमिकता दिँदै आएको छ । मुलुकका कुनाकन्दरामा दबिएका आवाजविहीनको आवाजको प्रतिनिधित्व गर्नुलाई आफ्नो मुख्य धर्म मान्दै आएको राससले सरकारी कामकारवाहीको कमजोरी औँल्याउने, पारदर्शी बनाउने र सुशासनलाई बढावा दिँदै मुलुकको सामाजिक, सांस्कृतिक एवं आर्थिकलगायत सबै पक्षलाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको छ ।

राससका अधिकांश समाचार सेवाले जनताको दैनिक जीविकासँग सरोकार राख्ने जनचासोका विषयलाई उच्च महत्व दिएको हुन्छ । रासस नाफामूलक नभई सेवामूलक ढङ्गबाट सञ्चालन भएकाले यसले जहिले पनि जनचासो र अभिरुचिका विषयलाई महत्व दिँदै आएको छ ।

१२ राससकर्मीलाई ‘दीर्घ सेवा पदक’

राष्ट्रिय समाचार समिति (रासस) मा अविच्छिन्न २० वर्ष स्थायी सेवा गर्नुभएका १२ जना कर्मचारीलाई ‘दीर्घ सेवा पदक’ प्रदान गरिएको छ । मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्षको अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो पदक प्रदान गर्नुभयो ।

कार्यकारी व्यवस्थापक उत्तम सिल्वाल, कार्यकारी सम्पादकहरू कृष्ण अधिकारी, एकराज पाठक, सूर्यचन्द्र बस्नेत, दिलीप अधिकारी र शीतलप्रसाद महतो, बाग्मती प्रदेश प्रमुख सुरेशकुमार झा, उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारी, वरिष्ठ समाचारदाताहरू हिमांशुकुमार चौधरी, प्रभाषचन्द्र झा, राजाराम कार्की र विष्णुप्रसाद नेपालले पदक प्राप्त गर्नुभयो ।

त्यस्तै हीरक वर्षको अवसरमा वर्षभर उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारी पुरस्कृत भएका छन् । रासस केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ती पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसाल (केन्द्रीय कार्यालय) र उपसमाचारदाता वीरेन्द्रनारायण कर्ण (रासस वीरगञ्ज कार्यालय प्रमुख)ले प्राप्त गर्नुभयो । पुरस्कारको राशि जनही रु १० हजार छ । त्यसैगरी महासङ्घले मनीन्द्रलाल श्रेष्ठ (राससका पूर्व कर्मचारी) र श्री शरच्चन्द्र भण्डारी (उपप्रमुख समाचारदाता, रासस केन्द्रीय कार्यालय) विशेष सम्मान गरेको छ ।

यो वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ स्थानीय समाचारदाता (स्ट्रिङ्गर) रवीन्द्र काफ्ले (पाँचथर) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ७ हजार ५०० छ । उक्त पुरस्कार रासस कार्यालय तुलसीपुर, दाङका प्रमुख नारायणी रजौरेले आफ्ना मातापिता र भाइको स्मृतिमा स्थापना गर्नुभएको हो ।

कर्मचारी सङ्घ, राससले स्थापना गरेको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झा (रासस प्रदेश नं २ कार्यालय, जनकपुर) र कार्यालय सहयोगी खीलप्रसाद दाहाल (रासस केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार छ ।

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ दीपराज सन्याल (अंग्रेजी समाचार, प्रमुख) र राजेशकुमार श्रेष्ठ (उपव्यवस्थापक, लेखा शाखा) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.