क्रिकेटखेल

टी–२० विश्वकप छनोट : नेपालद्वारा फिलिपिन्स १ सय ३६ रनले पराजित

ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोटमा नेपाल सेमिफाइनलको नजिक पुगेको छ । प्रतियोगिताको दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराउँदै दोस्रो जित हात पारेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित दर्ता गर्दै समूहमा शीर्षस्थानमा रहेको छ ।

नेपालको जीतमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी नायक सावित भए । यी दुईले कीर्तिमानन १७१ रनको साझेदारी गरेर नेपाललाई २१८ रनको बलियो अवस्थामा पुर्याएका थिए ।

फिलिपिन्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले कुशल भुर्तेलको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय १८ रन बनायो । जबाफमा आएको फिलिपिन्सले ८ विकेट गुमाई ८२ रनमात्र बनाउन सक्यो ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी साझेदारी हो । कुशल १ सय ४ रन बनाई अविजित रहे । दीपेन्द्र ८३ रन बनाएर अन्तिम दोस्रो ओभरमा आउट भए ।

कुशल भुर्तेल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतक बनाउने तेस्रो नेपाली खेलाडी बने । यसअघि नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतक बनाउने पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल थिए ।

पारसले सिंगापुरमा २०१९ मा त्रिकोणात्मक शृंखलामा अविजित १ सय ६ रन बनाएका थिए । त्यस्तै ज्ञानेन्द्रले २०१९ मा नेपालमा दक्षिण एसियाली खेलकुदमा भुटानविरूद्ध १ सय ७ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा आएको फिलिपिन्सबाट जोर्डन एलेग्राले २७ रन बनाई अविजित रहे । ओपनर डायिनल स्मिथले २० रन र कप्तान जोनाथन हिल्सले ११ रन बनाए । नेपालबाट कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चे । जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र पहिलो खेल खेलिरहेका गुलशन झाको नाममा १–१ विकेट रहयो ।

नेपाल रहेको समूह बीको अर्को खेलमा ओमानले क्यानडालाई ९ विकेटले पराजित गरेको छ । यसअघि क्यानडाले फिलिपिन्सलाई र नेपालले ओमानलाई हराएको थियो । कमजोर फिलिपिन्समाथि क्यानडाले १ सय १८ रनले हराएको थियो भने नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.