कर्पोरेट/पर्यटन

पर्यटकको मुख्य याममा सौराहाका आधा होटल खाली

नेपालको प्रमुख पर्यटकीय गन्तव्य रहेको चितवनको सौराहामा मुख्य याममै पर्यटकको संख्यामा ठूलो कमी आएको छ । विगतका वर्षमा यतिबेला होटल ८० प्रतिशत भरिने गरेकामा यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक आएका छन् ।

सौराहामा १४८ होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । यस क्षेत्रमा प्रत्यक्ष रुपमा ६ हजार ४०० जनाले रोजगारी पाएको छ । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ ।

मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउनुहुन्छ ।

गत वर्ष यतिबेला होटलका ८० प्रतिशत कोठा भरिने गरेका उल्लेख गर्दै यस वर्ष ५० प्रतिशतभन्दा कम कोठा बुक भएका उहाँको भनाइ छ ।

अध्यक्ष पाण्डेले भन्नुभयो, “एकदमै राम्रो पर्यटकीय याममा पनि किन पर्यटक आएनन् हामी सोचमग्न छौँ ।” यो बेलामा चितवन राष्ट्रिय निकुञ्जमा ढड्डी फाँडेर टाढासम्म देखिने भएकाले सजिलै वन्यजन्तु हेर्न सकिन्छ ।

मौसमका हिसाबले पनि गर्मी र जाडो दुबै नहुने भएकाले सबैका लागि उपयुक्त यही समय हो । सबै हिसाबले राम्रो भए पनि विदेशी पर्यटक न्यून मात्र आउँदा व्यवसाय प्रभावित भएको उहाँको भनाइ छ । सौराहामा मात्र नभएर देशभरको अवस्था उस्तै रहेको अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटक नआउनुको कारण खोज्नुपर्ने भएको छ ।”

सङ्घका उपाध्यक्ष गुणराज थपलिया निर्वाचनका कारण विदेशी पर्यटक नआउँदा सौराहामा पर्यटकको सङ्ख्यामा कमी आएको बताउनुहुन्छ । निर्वाचनपछि पर्यटक बढ्ने उहाँले अपेक्षा गर्नुभयो ।

होटल व्यवसायी सुमन घिमिरे निर्वाचनको मुखमै पर्यटकको आगमनमा कमी आएको बताउनुहुन्छ । विशेष अवस्थामा निर्वाचन हुन लागेको उल्लेख गर्दै उहाँले अन्तरराष्ट्रिय जगतमा यहाँको अवस्था शान्तिपूर्ण छ भन्ने सन्देश पुग्न जरुरी भएको बताउनुभयो ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा गत वर्ष यतिबेला दैनिक चार खेप गर्ने हात्तीले अहिले एक खेप मात्र गर्ने गरेको बताउनुहुन्छ । पर्यटकको आगमनमा कमी आएपछि व्यावसायिक रुपमा पालिएका हात्तीका सञ्चालक प्रभावित भएका छन् ।

रेष्टुरेन्ट व्यवसायीसमेत रहनुभएका खतिवडाका अनुसार पर्यटक नआएपछि सौराहाका रेष्टुरेन्टमा प्रत्यक्ष प्रभाव परेको छ । मुख्य मौसममा पर्यटक घटेपछि पर्यटकीय गतिविधिमा काम गर्ने समग्र व्यवसाय प्रभावित भएको उहाँले बताउनुभयो ।

बनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपाने सौराहामा यो मौसममा पर्याप्त पर्यटक आउने भए पनि यस वर्ष कमी आएको बताउनुहुन्छ । होटल क्षेत्रमा लामो अनुभव सगाल्नु भएका उहाँले पर्यटक आउनेमा आशावादी हुनुहुन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, घडीयाल गोहीलगायतका दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी हेर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

यसका अतिरिक्त सौराहामा थारु संस्कृति पनि पर्यटकका लागि रुचिकर बन्दछ । यसका साथै नेपालका विभिन्न सङ्घ संस्था कार्यक्रम गर्न सौराहा आउँछन् भने भारतीय नागरिक बढी मात्रामा यहाँ आउने गर्छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.