जन सरोकार

संकटमा परेका ३७ मध्ये २३ भाषा लोप हुने अवस्थामा

नेपालमा बोलिने मध्ये २३ भाषा लोप हुने अवस्थामा पुगेको जानकारहरुले बताएका छन् । यी भाषा अन्य भाषाको अतिक्रमणमा पर्दा वक्ताको संख्या न्यून हुँदै संकटको अवस्थामा पुगेको छ ।

यी भाषाको संरक्षका लागि काम भैरहेको बताइएको छ । संकटमा परेका २३ भाषाको वक्ता एक हजार जनाभन्दा कम भएपछि यसको संरक्षणमा भाषा आयोगले काम सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय मातृ भाषा दिवसका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले आज यहाँ आयोजना गरेको ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठी’ मा ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको जानकारी गराइएको छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै आयोगका अध्यक्ष डा लवदेव अवस्थीले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा वृत्ति दिएर ती भाषा संरक्षणका काम सुरु गरेको बताउनुभयो ।

सो अवसरमा डा बालकृष्ण बलले भाषा अनुवादको यान्त्रिक प्रक्रिया, डा सोमबहादुर धितालले ‘धिमाल भाषा र संस्कृतिको सम्बन्ध’ एवं सुलोचना मानन्धरले ‘नेपालका विभिन्न मातृभाषामा प्रचलित लोककथा, जनजीवन तथा वातावरणबीचको सम्बन्ध’ का बारेमा कार्यपत्र प्रस्तुत गर्दै मातृभाषा संरक्षणमा अझै धेरै काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले इन्द्रेणीमय विविधता बोकेको समाजमा सबै मातृभाषाको संरक्षण गर्न सहयोग पुगोस् भनी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । इतिहासमा विविधततालाई नचिन्दा द्वन्द्व भएको सुनाउनुहुँदै उहाँले अब त्यस्तो हुन नदिन यस्ता कार्यक्रमले योगदान गर्ने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले संविधानमा व्यवस्था भएअनुसार मातृभाषामा शिक्षा दिन सबै खाले पूर्वाधार एवं जनशक्तिको व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।

मातृभाषा संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले मातृभाषामा शिक्षा दिन विभिन्न विश्वविद्यालय एवं सरोकार भएका निकायसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएकाले त्यसो हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा युनेस्कोका प्रतिनिधि निर्जना शर्मा, बङ्गलादेशी राजदूतावासका प्रतिनिधि इसरत जहाँ, प्रतिष्ठानका प्राज्ञ योगेन्द्रप्रसाद यादवलगायतले मातृभाषाको संरक्षणका लागि सरोकार भएका निकायसँगको समन्वयमा निरन्तर सहकार्य हुने प्रतिबद्धता जनाउनुभएको थियो । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.