विश्व समाचार

मध्यपूर्वको ‘भयानक मानव मूल्य’ प्रति युवराज विलियम चिन्तित

बेलायती सिंहासनका उत्तराधिकारी युवराज विलियमले मङ्गलबार इजराइल–हमास द्वन्द्वबारे दुर्लभ बयान जारी गर्दै ‘भयानक मानव मूल्य’ माथि आफ्नो चिन्तालाई रेखाङ्कित गर्नुभएको छ ।

युद्धका कारण हुने मानवीय पीडा र यहुदीविरोधी भावनामा वैश्विक वृद्धिलाई पहिचान गर्नका लागि विलियमले यो साता लन्डनमा भ्रमणअघि उक्त टिप्पणी गर्नुभएको हो ।

उहाँ मानवीय सहायता कार्यकर्ताहरूसँग भेट्ने र यहुदीविरोधी भावनाका बारेमा विभिन्न समुदायका युवाहरूसँग एक सभाघरको छलफलमा सहभागी हुनुहुनेछ ।

शाही परिवारले सामान्यतया अन्तर्राष्ट्रिय विवादहरूमा टिप्पणी गर्दैन । विलियिमका पिता राजा चार्ल्स तृतीय संयुक्त अधिराज्यका साथै क्यानाडादेखि लिएर अस्ट्रेलिया र जमैकासम्म १४ अन्य राष्ट्रमण्डल मुलुकको प्रमुख हुनुहुन्छ । उहाँको कार्य अनिवार्यरूपमा औपचारिक हुन्छन् र उहाँले राजनीतिक बहसमा हस्तक्षेप गर्नुहुन्न ।

“म, अरु धेरैजस्तो, चाँडोभन्दा चाँडो युद्ध अन्त्य भएको हेर्न चाहन्छु”, प्रिन्स अफ वेल्स भनेर चिनिने विलियमले भन्नुभयो, “गाजालाई मानवीय सहायता बढाउनुपर्ने टड्कारो आवश्यकता छ, सहायता पुगोस् र बन्धकहरू रिहा हुन् भन्ने महत्त्वपूर्ण हो ।”

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजामा चार महिनाभन्दा धेरै समयदेखिको अथक लडाइँले तटीय क्षेत्रका अधिकांश भाग नष्ट गरेको छ, २२ लाख जनता भोकमरीको छेउमा पुगेका छन् र तीन–चौथाई जनसङ्ख्या विस्थापित भएको छ ।

अक्टोबर ७ मा हमासले इजराइलमाथि अभूतपूर्व आक्रमण गरेपछि युद्ध सुरु भएको हो । हमासको आक्रमणमा इजराइलमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ६० मानिस मारिएका थिए ।

इजराइलका अनुसार हमासका लडाकूहरूले करिब दुई सय ५० जनालाई बन्धक बनाएको र तीमध्ये एक सय ३० जना गाजामा रहेका छन् । गाजामा रहेका तीमध्ये ३० जनाको मृत्यु भएको मानिएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजराइलको आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित २९ हजारभन्दा धेरै मारिएका छन् ।

“कहिलेकाहीँ मानवीय पीडाको विशाल स्तरको सामना गर्दा मात्र पनि स्थायी शान्तिको महत्त्व थाहा हुन्छ”, युवराज विलियमले भन्नुभयो, “अन्धकारको घडीमा पनि हामीले निराशाको सल्लाहमा झुक्नुहुँदैन, एउटा उज्ज्वल भविष्य पाउन सकिन्छ भन्ने आशामा म अडिग छु र म त्यसलाई त्याग्न अस्वीकार गर्छु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.