प्रेम गीत ३- "हात्ती ढुंगामा"पछि "हर युग होस् प्रेमको गीतको" (भिडियोसहित)
वर्षको बहुप्रतिक्षित चलचित्र प्रेम गीत ३ को शीर्षगीत सार्वजनिक भएको छ । चलचित्रको पहिलो गीत हात्ती ढुंगामा सार्वजनिक भएको दुई सातापछि शीर्षगीत ‘हर युग होस् प्रेमको गीतको’ सार्वजनिक गरिएको हो ।
चलचित्रको पहिलो गीत रिलिजको पहिलो दिन नै ट्रेडिंगमा पर्न सफल भएको थियो भने दुई हप्तामा २१ लाखले हेरिसकेका छन् ।
२०७६ चैत २८ गतेबाट विश्वव्यापी प्रदर्शनको तयारीमा रहेको यो चलचित्र ऐतिहासिक कथामा आधारित रहेको छ । सार्वजनिक गीत प्रताप दास र प्रविशा अधिकारीको आवाजमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
राजेश कुमार श्रेष्ठको शब्दमा एलिश कार्कीले संगीतबद्ध गरेको गीत शैलेन्द्र एम प्रधान र गोपाल रसाइलीले एरेञ्ज गरेका हुन् । गीतको भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु प्रदीप खड्का र अभिनेत्री क्रिष्टिना गुरुङको प्रेम प्रस्तुत गरिएको छ ।
रिलिज पूर्व नै विदेशमा प्रदर्शन अधिकार बेचेर करिब पौने करोडको ब्यापार गरिसकेको चलचित्रका लागि लागि बेलायत र यूरोपका आठ देशका लागि प्रदर्शन अधिकार २३,५०० यूरो (३० लाख रुपैयाँ)मा र उत्तर अमेरिकाको प्रदर्शन अधिकार पनि ४५ हजार डलर (करिब ५० लाख रुपैयाँ) मा बेचिएको छ ।
सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेको चलचित्र सामाजिक अभियन्ता चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माताको रुपमा रहेको छ । कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व रहेको चलचित्रलाई बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।
चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई, लक्ष्मी बर्देवा, सुजल बस्नेत, राज थापा लगाएतको मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्